Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


चितवनमा एकै दिन मरे दुई गैंडा


0
Shares

चितवन, माघ १५ । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैंडा मरेका छन् ।

यीसँगै चालू आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको संख्या १३ पुगेको छ ।

सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेकाअनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैंडा मृतावस्थामा फेलापरेको हो ।

अर्काे एक गैंडा सुखीभार क्षेत्रनजिक मृतावस्थामा फेलापरेको छ । उनकाअनुसार सो गैंडा ३० वर्षको पोथी हो ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठकाअनुसार तमासपुरमा भेटिएको गैंडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

विषाक्त घाँस खाएर गैंडा मरेको हुनसक्ने श्रेष्ठले जानकारी दिए । अर्काे गैंडा मर्नाको कारण खुल्न सकेको छैन ।

गत आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैंडा कालगतिले मरेका थिए । 

गैंडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चोरी–सिकारीबाट गैंडा मारिएका छैनन् । तर, कालगतिले मर्नेक्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ ।

यसैगरी, माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ ।

श्रेष्ठकाअनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्काे चार महिनाको भाले बच्चा सौराहानजिकैबाट उद्धार गरी राखिएको छ । रासस