Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


गाउँमा सडक पुगेपछि खुशियाली, ट्याक्टरलाई पूजाआजा


0
Shares

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार  मोटर बाटो पुर्‍याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् ।  स्थानीयवासीले पहिलोपल्ट गाउँ पुगेको ट्याक्टरलाई पूजाआजा गरेर  खुशीयाली मनाएका छन् । 

पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर मोटरबाटो गाउँमा पुगेपछि हर्षविभोर हुँदै छमछमी पुख्र्यौली नाच नाचे ।

घरआँगानमै मोटरबाटो पुगेपछि अर्का वृद्ध ८५ वर्षीय चित्रबहादुर पुनसमेत फुरुङ्ग भए । विगतमा सवारीसाधन र मोटरबाटो हेर्न एकदिनको पैदलयात्रा गरेर आउनुपर्ने अवस्थामा गाउँपालिकाले गाउँलाई सडक सञ्जालसँग जोडेपछि पात्लेखर्कका स्थानीयवासीले खुशियाली मनाएका हुन् ।

“गाउँमै मोटरबाटो आयो”, कुइनेमङ्गलेका ८९ वर्षीय तमान छन्त्यालले भने, “अब पैदल हिँडेर बजार जानुपर्ने अवस्थाको अन्त्य हुदैंछ” ।

गाउँपालिकाभित्रका सबै बस्तीलाई सडक सञ्जालले जोड्ने योजनाअन्तर्गत  १४ लाखको लागतमा साढे चार किलोमिटर सडकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाभित्रका जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताए ।

“गाउँमा सडक पुगेपछि तपाईहरुको अनुहारमा मैले चमक देखेँ”, प्रमुख भण्डारीले भने, “यसलाई कमी हुन दिने छैन ।” उनले विकट बस्तीमा सडक प्राथमिकतामा परेको बताए ।  कुइनेमङ्गलेको पात्लेखर्क जिल्लाकै दुर्गम बस्ती हो । रासस