काठमाडौं, माघ १४ । स्वास्थ्य मन्त्रालयले ‘कोरोनाभाइरस’ संक्रमितहरुलाई छुट्टै राखेर उपचार गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले कोरोनाभाइरसको उपचार गराउन ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा राख्न अस्पतालहरुलाई निर्देशन दिएको जानकारी दिएका छन् ।
मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले अस्पतालहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरेको बताए ।
त्रिवि शिक्षण अस्पताल, पाटन र सरुवा रोग अस्पताल टेकुमा आइसोलेसन वार्ड तयार गरिएको प्रवक्ता श्रेष्ठको दाबी छ ।
‘त्रिवि शिक्षण अस्पतालमा छैन’
तर, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भने त्यस्तो कुनै वार्ड नरहेको चिकित्सकहरुले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले दाबी गरे ।
‘चारजनामा संक्रमण भेटिएन’
पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. लुना झाले चारजना शंकास्पद व्यक्तिहरुको रगत र र्याल परीक्षण गरिएकामा एकजनामा पनि रोगको संक्रमण नभेटिएको जानकारी दिइन् ।
नेपालमा हालसम्म एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । संक्रमित व्यक्तिमा पुनः केही समस्या नदेखिएको र पूर्णरुपमा निको भएर घर गइसकेकोसमेत मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्