कांग्रेसमा वंशवादको ओरालो यात्रा « Image Khabar


कांग्रेसमा वंशवादको ओरालो यात्रा


5.239k
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । दक्षिण एशियामा फस्टाउँदै आएको वंशवाद नेपाली कांग्रेसको १४ औं महाधिवेशनसँगै ओरालो लागेको छ ।

कांग्रेसको अघिल्लो पुस्ताका नेता वीपी, गणेशमान, गिरिजाप्रसाद र महेन्द्रनारायण निधिका सन्तान यतिबेला चुनावी मैदानमा छन् । राजनीतिको मियो बन्न सक्ने उनीहरू उल्टै पार्टीभित्र अस्तित्व जोगाउने सकसमा छन् ।

कृष्णप्रसाद कोइरालाका तीन सन्तान मातृका, वीपी र गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बने । वीपी चाहान्थे उनका जेठा सन्तान प्रकाश कोइरालाले आफ्नो बिँडो थामून् । त्यसैले उनलाई राजनीतिशास्त्र पढाए । माइला र कान्छा छोरालाई जागिर खान सजिलोका लागि प्राविधिक शिक्षा दिलाए ।

भयो उल्टो, आँखाका डाक्टर शशांक विश्वविद्यालयको पढाइ छोडेर राजनीतिमा होमिए । १३औं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी हुँदा मतदाताले उनमा वीपीको छवि देखे । अत्यधिक मतले जिताए पनि ।

पाँच वर्षको कार्यकाल वीपीपुत्रबाहेक महामन्त्रीको पदचापमा उनले सम्झनलायक कुनै नासो छोडेनन् । १४ औं महाधिवेशन आइपुग्दाको यात्रा महामन्त्रीबाट केन्द्रीय सदस्यमा खुम्चियो । घरकै दुई सदस्य शेखर र सुजातालाई समेट्न नसक्नु पदीय हैसियतले पनि डा. शशांकको गम्भीर त्रुटी रह्यो ।

अर्का संस्थापक नेता गणेशमानपुत्र प्रकाशमान दुईपटक काठमाडौंको जिल्ला नेतृत्वमा रहे । आमा र छोरा दुवैलाई चुनावमा टिकट दिलाएका कारण आलोचित गणेशमानसिंहले अन्तत पार्टीबाटै बर्हिगमन रोज्नुपर्‍यो ।

उपसभापति र महामन्त्री भइसकेका प्रकाशमानले अध्यक्षको प्रत्यासी हुँदा गुटगत प्रतिनिधित्वलाई समेत पूर्णाकार दिन सक्नुभएन । पार्टीको केन्द्रीय अध्यक्ष दावी गरिरहँदा काठमाडौं खाल्डोको राजनीतिबाट माथि उठ्न नसकेको आक्षेप लाग्यो ।

तराईको राजनीतिमा दख्खल राख्ने महेन्द्रनारायणका पुत्र भए पनि विमलेन्द्र निधिको राजनीतिक निर्माताको जश शेरबहादुर देउवालाई जान्छ । विद्यार्थी राजनीतिबाट आएका निधिको व्यावसायिक राजनीति देउवाको निगाहमा चलेको थियो ।

मधेशको राजनीतिक दाउपेचमा निधिकै सल्लाह निर्णायक ठहरिन्थ्यो । कांग्रेस नेतृत्वमा उठेका निधिको हैसियत न हाँस, न बकुल्लाको चाल देखिएको छ ।

गिरिजाप्रसाद कोइरालाकी एक्ली सन्तान सुजाता दुईदशक बाबुको राजनीतिक प्रतापमा रहनुभयो । न सांगठनिक क्षमता, न कार्यकर्ताको रुझान पदीय महात्वाकांक्षाले उहाँलाई अन्तिममा घर न घाट बनायो ।

कोइरालाको वंशवाद बचाउन नसक्दाको पीडा प्रकाशमानसिंहको गुटमा खुम्च्याउनुप¥यो । यी दृश्यले नेपालको राजनीतिमा वंशवाद अलोकप्रिय बन्दै गएको प्रमाणित हुन्छ ।