९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


फेरि कांग्रेस सभापतिमा उम्मेदवारी दिनुभएका देउवाको यस्तो छ विगत


26
Shares


काठमाडौं । प्रधानमन्त्री एवं वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा जारी कांग्रेसको औं १४ महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

बिसं २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राममा जन्मिनु भएका देउवा २०२१ सालदेखि नेपाल द्यिार्थी संघ (नेबिसंघ)बाट राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बिपिन कोइराला भएपनि देउवा नेबिसंघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ । २०२८ सालमा देउवा नेबिसंघको अध्यक्ष बन्नु भएको थियो । कांग्रेसको २०७२ फागुनमा भएको १३ औं महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको थियो ।

विद्यार्थी राजनीतिमार्फत नेपाली राजनीतिमा उदाउनु भएका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गर्ने व्यक्तिमा पर्नुहुन्छ ।
२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा कांग्रेसको राजनैतिक प्रमुखको भूमिकामा रहनुभएको थियो ।२०४८ सालको आम निर्वाचनमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो ।

२०४८ सालपछि देउवालाई राजनीतिमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । देउवा २०४८ सालदेखि भएका निर्वाचनमा कहिल्यै पराजित हुनु परेको छैन ।कांग्रेसका नेताहरु गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाबीच मनमुटाव बढेपछि देउवा पहिलो पटक २०५२ भदौ २७ मा देशको कार्यकारी प्रधानमन्त्री बन्नु भएको थियो ।

२०५२ यता ५ पटक प्रधानमन्त्री बन्ने देउवा भाग्यमानी नेतामा पर्नुहुन्छ । २०५८ साउन ११ मा दोस्रो पटक, २०६१ जेठ २१ मा तेस्रो पटक र २०७४ जेठ २४ देउवा चौथो पटक प्रधानमन्त्री बन्नुभको थियो भने २०७८ असार २९ मा अदालतको आदेशबाट उहाँ पाँचौ पटक प्रधानमन्त्री बन्नुभयो । २०५८ असोजमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री रहेकै बेला पदच्युत गर्नुभएको थियो ।

२०६१ जेठमा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनः स्थापित गर्नुपरेको थियो ।तर २०६१ माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै ज्ञानेन्द्रले देउवालाई हटाउनुभएको थियो । त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो।उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गर्नुभएका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो।

पछि सर्वोच्च अदालतले उक्त आयोगलाई खारेज गरिदिएपछि देउवा थुनामुक्त हुनुभएको थियो । देउवाले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर सभापति बन्नु भएको थियो । तर २०६४ मा फेरि कांग्रेससँग एकीकरण भयो ।
देउवाको आलोचना र प्रशंशा
२०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवालाई २०५९ मा संसद विघटन गरेर निर्वाचन गराउन नसकेको, सत्ताका लागि नेपाली कांग्रेसलाई २०५९ मा बिभाजन गरेको पनि आरोप लगाउने गरिएको छ । त्यसैगरी बिगतमा प्रधानमन्त्री बन्दा प्राडो र पजेरो संस्कृति भित्र्याएको,सांसदहरुलाई सुविधा बाँडेर संसदीय व्यवस्थालाई नै बद्नाम गराएको आरोप पनि देउवामाथि लाग्ने गरेको छ । प्रधानन्याधीस माथि महाअभियोग लगाउने जस्ता गलत संस्कार स्थापित गर्न खोजेको आरोप पनि देउवा माथि छ ।

नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि देउवालाई लिइने गरेको छ ।तर सुझबुझका साथ राजनीतिक कदम अघि बढाउने पाका नेताका रुपमा पनि देउवालाई प्रशंशा गर्ने धेरै छन्। उहाँलाई पार्टीभित्र पनि जुझारु रआँटिलो नेताका रुपमा लिने गरिन्छ । नेपाली राजनीतिमा देउवा पाका राजनीतिक खेलाडी मानिनुहुन्छ ।