
काठमाडौं । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलमा गएराति जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, बसमा सवार २५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बलेफी गाउँपालिका–६ का ३५ वर्षीय राज तामाङ रहेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई प्रहरीले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय बाह्रविसेले जनाएको छ ।
काठमाडौंबाट जन्ती लिएर सिन्धुपाल्चोकको विन्जेलतर्फ जाँदै गरेको बा २ ख ५६१४ नम्बरको बस गएराति सवा ९ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको थियो ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ मा गएराति सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको सवारी साधनले पैदल हिंडिरहेका काभ्रैकै रोशी गाउँपालिका–४ का ३७ वर्षीय चतुरमान तामाङलाई गएराति करिब १२ बजे ठक्कर दिएको थियो । उपचारको लागि शीर मेमोरियल अस्पताल पुर्याउना साथ डाक्टरले तामाङलाई मृत घोषणा गरेका थिए ।
दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
धादिङको गजुरी गाउँपालिका–२ मा हिजो बेलुकी स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट मलेखुतर्फ जाँदै गरेको बा ६३ प ४८३४ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालक धादिङकै बेनीघाट रोराङ गाउँपालिका १० का ३३ वर्षीय सुक बहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घाइते भएका स्कुटरमा सवार दुई जनालाई भने उपचारको लागि गजुरी अस्पताल पठाइएको छ ।
झापाको विर्तामोड नगरपालिका–२ निधी कलेज नजिकै हिजो साँझ कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा १ च ४०५ नम्बरको कार र ना २० प २१८८ नम्बरको मोटरसाइकल हिजो साँझ आपसमा ठोक्किँदा झापाकै शिवसताक्षी नगरपालिका–११ का ५० वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । दुवै सवारी साधन सहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्