Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


गोसाइँकुन्ड पदयात्रामा हराएका दुई युवाको शव भेटियो


0
Shares

बेत्रावती, माघ १३ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीबाट हराएका दुई युवाको शव सोमबार भेटिएको छ ।

गोसाइँकुन्ड पदयात्रामा जानेक्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक, हेलम्बुका १७ वर्षीय वांगेल तामाङ र काठमाडौं, जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेटिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

उनकाअनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत् परिचालन गरिएको पर्यटक गाइडसमेत रहेका तादी गाउँपालिका–१, उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेटाएको हो ।

हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरकोसमेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन ।

उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवैजनाको शव बरामद गरेको हो ।

शव परीक्षणका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए । रासस