२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बग्दादस्थित अमेरिकी दूतावासमा तीनओटा रकेट प्रहार


0
Shares

बग्दाद, माघ १३ । आइतबार इराकको राजधानी बग्दादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ ।

हजारौं प्रदर्शनकारीले देशभर सरकारविरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो ।

हालैका दिनहरुमा अमेरिकी सेना खटाइएको स्थान, दूतावास र इराकी सैन्य शिविरमा आक्रमणका घटनाहरु बढेको छ । यस आक्रमणको कुनैपनि समूहले हालसम्म जिम्मेवारी लिएको छैन ।

तर, वासिङ्टनले इराकमा इरान समर्थित सैन्य गुटले यस्ता आक्रमणहरु गरेको दाबी गरेको छ ।

आइतबार दूतावासको खाना पकाउने ठाउँ र अन्य दुईओटा स्थानमा रकेट प्रहार भएको सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जनाएको छ ।

एक वरिष्ठ इराकी अधिकारीले कम्तीमा एक व्यक्ति घाइते भएको एएफपीलाई बताएका छन् ।

तर, घाइतेको अवस्था कति गम्भीर हो र उक्त व्यक्ति अमेरिकी नागरिक वा ‘मिसन’मा कार्यरत् इराकी स्टाफ सदस्य हुन् या होइनन् भन्नेबारेमा पनि तत्काल पुष्टि भएको छैन ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार इराक सरकारलाई ‘हाम्रो कूटनीतिक सुविधाहरुको रक्षा गर्न आफ्नो दायित्व पूरा गर्न’ आह्वान गरेको छ ।

इराकी प्रधानमन्त्री अदेल अब्देल महदी र सभामुख मोहम्मद हलबुसीले यस घटनाको भर्त्सना गर्दै ‘यस्तो अवस्था रह्यो भने मातृभूमिलाई युद्धमा तान्ने जोखिम’ रहेको बताएका छन् ।

अमेरिका र इरानमा गत महिनाबाट सुरु भएको तनावको कारण बीचमा इराक पनि तानिएको छ । रासस/एएफपी