
तेहरान, माघ १३ । इरानी यात्रीवाहक विमान बान्दर–ए–मासार विमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् ।
राज्य सन्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाइ उद्धृत गर्दै विमानमा सवार यात्रीसमेत चालकदलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।
खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले विमानका पाइलटले विमानस्थलमा विमान ढिला अवतरण गराएका कारण विमान अनियन्त्रित भएको बताएका छन् ।
इरानको क्यास्पियन एअरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस विमान राजधानी तेहरानको मेहरावाद विमानस्थलबाट उडेको थियो । विमानमा १३५ जना यात्री र चालकदलका सदस्य थिए ।
टेलिभिजनले विमानका सबै यात्री सुरक्षित रहेको जनाएको छ ।
विमानमै यात्रारत् टेलिभिजनका पत्रकारले सडकमा विमान अवतरण गर्नेक्रममा विमानका पांग्राहरु फुटेको बताए ।
इरानी नागरिक उड्डयन संस्थाले विमान दुर्घटनाका बारेमा छानविन सुरु गरिसकेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित विमान कम्पनीहरु एअरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ ।
प्रतिबन्धहरुका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्