Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


देशका विभिन्न स्थानमा बम विष्फोट, एनसेल टावरमा आगजनी


0
Shares

काठमाडौं(जिल्ला ब्यूरो) । सर्लाहीको परवानीपुरमा रहेको एनसेल मोबाइलको टावरमा विष्फोट गराइएको छ ।

लालबन्दी नगरपालिका–१६ स्थित टावरमा आज(सोमबार) बिहान १ बजेतिर विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

खेतको बीचमा रहेको टावरमा विष्फोट गराइएको छ । विष्फोटबाट सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

विष्फोटबाट टावरमा क्षति पुगेपछि त्यस क्षेत्रका एनसेल सीम मात्र लिने अधिकांश उपभोक्ता सञ्चार सेवाबाट सम्पर्कविच्छेद भएका छन् ।

नेकपा विप्लव समूहले विष्फोट गराएको हुन सक्ने आशंका गर्दै सुरक्षा निकायले अनुसन्धान अगाडी बढाएको छ ।

राती ठूलो आवाजसहित विष्फोट भएपछि गाउँलेहरुले सुरक्षा निकायमा खबर गरेका थिए ।

यस्तै डडेल्धुराको एक सरकारी कार्यालयमा हिजो राती बम बिष्फोट भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम विष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा सामान्य क्षति भएको छ ।

बम विष्फोट कसले गराएको भन्ने यकिन भएको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा रहेकोमा सुतली शैलीको बम बिष्फोटबाट स्थानीय त्रसित भएका छन् ।

त्यस्तै, मोरङको केराबारी र सिंहदेवीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।

आइतबार साँझ विप्लव समूहका कार्यकर्ताले गराएको आगजनीका कारण मोबाइल सेवा अवरुद्ध भएको छ ।