बाढीले दिएको पीडा अझै ताजै « Image Khabar


बाढीले दिएको पीडा अझै ताजै


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर । गत कात्तिक पहिलो साता कञ्चनपुरसहित सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा बाढी तथा पहिरोले धनजनको क्षति ग¥यो । बेमौसमी वर्षाका कारण आएको बाढीले भित्र्याउन तयारी गरेको धान बाली मात्रै बगाएन, धेरैका आफन्त र सपनाहरु पनि बगायो । बाढी कम भएसँगै विस्थापित आआफ्ना घर फर्किए पनि बाढीले दिएको पीडा भने अझै ताजै छ ।

उत्तरतर्फ जोगबुडा, पूर्वतर्फ महाकाली नदी अनि दक्षिणमा आगँनमै गाडिएको नेपाल–भारत सीमा स्तम्भ । दशकांैदेखि सीमा क्षेत्रमा रक्षक बनेर बसेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकबरका स्थानीय कष्टकर जीवन बिताउन बाध्य छन् । गत कार्तिकमा आएको बाढीले खेतबारी बगर बनाएपछि विचल्ली भएको दोधारा चाँदनी १० कुतियाकबरकी सुक्मा सुनारको गुनासो छ ।

२०२८ साल तिर बसेको यो बस्ती हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेको छ । तर यसअघि आउने बाढीले यति ठूलो क्षति गरेको थिएन । वर्षा लागेसँगै उनीहरुले अन्न र घरभित्रका सामानहरु सुरक्षित ठाउँमा सार्थे र बाढी कम भएपछि आफ्नो दैनिकीमा फर्किने गर्थे । तर यस वर्ष बेमौसमी बाढीले न भित्र्याउने तयारीमा रहेको धान राख्यो, न त घरभित्र राखेको अन्न र भाँडाकुडा नै बाँकी रह्यो ।

जसले गर्दा बाढी आएको डेढ महिना बितिसक्दा पनि यहाँका स्थानीय आफ्नो दैनिकीमा फर्किन सकेका छैनन् । सरकार तथा संघसंस्थाले दिएको राहतको भरमा छाक टार्दै आएका उनीहरुलाई वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्ता छ ।

बेमौसमी बाढीले अन्नबाली मात्रै नोक्सान गरेको छैन नदीको तटीय क्षेत्रमा रहेका हरियाली खेतहरु बगर बनाएको छ । जसले गर्दा यो वर्षमात्रै होइन, उनीहरुलाई आगामी दिनमा पनि खेती नहुने हो कि भन्ने चिन्ताले सताएको छ । सरकारले दिएको राहतकै भरमा परिवार पाल्न नसकिने भएपछि कतिपय परिवार मजदूरीका लागि भारत गइसकेका छन् भने कतिपय बाढीले भत्काएको घर तथा संरचना मर्मत गरेर रोजगारीका लागि भारत जाने तयारीमा छन् ।

दशकाै‌देखी सीमा क्षेत्रमा रक्षक बनेर बसेका कुतियाकबरका स्थानीयको कष्टलाई कसले बुझेर मलम लगाउने हो ? सम्बन्धित निकायको ध्यान छिटै जाओस ।