Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


स्रष्टा तथा संस्थालाई न्हापांगु पलाःको सम्मान


0
Shares

काठमाडौं । जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको ’न्हापांगु पलाः’ संस्थाले पाँचौं वर्ष प्रवेशको सन्दर्भमा फरक विधामा योगदान दिएका स्रष्टा तथा संस्थालाई सम्मान गरेको छ ।

काठमाडौंको मरू हिटी बैंक्वेटमा सम्पन्न कार्यक्रममा संस्थागत एक र अन्य चार व्यक्तित्वलाई दोसला ओडाएर सम्मान गरेको हो ।

कार्यक्रममा समाजसेवातर्फ डा. सुमित्रा मानन्धर गुरूङ, बौद्ध विद्वान तीर्थरत्न शाक्य, पत्रकार शिल्भिया राजोपाध्याय तथा रत्न महर्जन र संस्थागततर्फ यटखास्थित मातृ सशक्तीकरण समूहलाई सम्मानित गरेको छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जीवित इतिहासको रूपमा रहेका आमाबुवालाई नयाँ पुस्ताले हेरबिचार गर्नुपर्ने बताए ।

घरभित्रै कारणवश एक्लो महसुुश गरिरहेका जेष्ठ नागरिकलाई दैनिक रूपमा डे कियर सञ्चालन गरेकोप्रति न्हापांगु पलाः संस्थालाई धन्यवाद दिए ।

मेयर शाक्यले नगरपालिकाले पनि जेष्ठ नागरिकाको क्षेत्रमा काम गर्न चाहेको बताउँदै सहकार्य गर्न तयार रहेको संकेत गरे ।

संस्थाले पाँच वर्ष यतादेखि निरन्तर रूपमा काठमाडौंका जेष्ठ नागरिकहरूलाई डे कियर सेवा दिँदै आएको संस्थाकी अध्यक्ष शीला साय्मिले जनाइन् । डे कियरको आमाबुवालाई दिनभर हेरचाह गर्ने भन्ने हुन्छ ।

व्यस्त दैनिकीसँगै छोरा बुहारीको जागिर र बच्चाबच्ची स्कूल जानुपर्ने भएर घरभित्रै एक्लो महशुस गर्दैआएका आमाबुवालाई संस्थाले सेवा दिँदैआएको छ । एकै ठाउँमा भेला गराएर भलाकुसारी गराउने, उत्तरार्ध जीवन उपयोगी प्रवचन सुनाउनेदेखि स्वास्थ्य सम्बन्धीको सेवा प्रदान गर्दै आएको छ ।

’ज्याथःजिथि मुनाः झी निभाः पाना’ अर्थात जेष्ठ नागरिक हामी भेला भएर घाम तापौँ भन्ने नारा दिएर संस्थाले अनवरत रूपमा मानव सेवाभावले काम गर्दै आएको छ ।

न्हापांगु पलाः नेवाः मिसा पुचःको कार्यक्रममा प्रदेश नं. ३ का सांसद मान्य राजेश शाक्य, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धर, २० वडाका वडाध्यक्ष लगायत विभिन्न सञ्चार गृहका पत्रकारदेखि जेष्ठ नागरिक आमाबुवाहरूको सहभागिता थियो ।