
-दीपक श्रेष्ठ/राममान डंगोल(ईमेज):
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी सांसद निरुदेवी पालमाथि काठमाडौंको बानेश्वरमा पेस्तोल ताकिएको घटनाको छानबिनलाई प्रहरीले तीब्र गतिमा अघि बढाएको छ ।
घटनाबारे सांसद पालले प्रहरीलाई लिखित जानकारी नदिए पनि प्रहरीले पाएको सूचनाका आधारमा समिति नै गठन गरेर छानबिन अघि बढाएको हो ।
नेकपाकी सांसद निरुदेवी पालले काठमाडौंको बानेश्वरमा आफूलाई अज्ञात व्यक्तिले टाउकोमा पेस्तोल ताकेर धम्क्याएको भन्दै सभामुख कृष्णबहादुर महरासमक्ष गुनासो गरेपछि प्रहरीले यसलाई गम्भीर रुपमा लिँदै अनुसन्धान अघि बढाएको हो ।
सांसद पालले संसदीय सुनुवाई विशेष समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको विरोध नगर्न चेतावनी दिँदै आफूलाई मार्ने धम्कीसहित कञ्चटमा पेस्तोल ताकिएको बताएकी थिइन ।
सांसद पालले घटनाबारे प्रहरीका कुनै पनि निकायमा उजुरी भने दर्ता गराएकी छैनन् ।
प्रहरीले भने सांसदमाथि नै यस्तो घटना भएको सार्वजनिक भएपछि उजुरी नपरे पनि छानबिन शुरु गरेको जनाएको छ ।
छानबिनका क्रममा प्रहरीले केही शंकास्पद व्यक्तिसँग सोधपुछसमेत गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको र त्यसले नै सत्यतथ्य बाहिर ल्याउने बताए ।
साउन १५ गते राति नयाँबानेश्वरमा अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइलसमेत लुटिएको भन्दै सांसद पालले घटनाको सञ्चारमाध्यममार्फत् सार्वजनिक गरेकी थिइन ।
त्यसको भोलिपल्ट आफ्नो सुरक्षाका लागि भन्दै उनले अंगरक्षकसमेत माग गरेकी थिइन ।
प्रधानन्यायाधीशको सुनुवाइको प्रसंग जोड्दै सांसद पालले आफूलाई आएको धम्की सार्वजनिक गरेपछि प्रहरीमा समेत उजुरी नदिनुलाई घटना कतै बनावटी त हैन भन्ने प्रश्नसमेत उब्जिएको छ ।
प्रतिक्रिया दिनुहोस्