९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


यू-१९ एसिया कप क्रिकेटको समूह विभाजन, समूह ‘बी’ मा नेपाल


0
Shares

काठमाडौं, मंसिर २२ । अर्को महिना युएईमा हुने यू–१९ एसिया कपको समूह विभाजन भएको छ ।

समूह बी मा परेको नेपाल तुलनात्मक सहज समूहमा छ । नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् ।

समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू–१९ एसिया कप पुष ८ देखि १७ गते सम्म युएईमा हुनेछ । दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ ।

दुबै सेमिफाइनल पुष १५ मा हुनेछ । फाइनल पुष १७ गते दुबई इन्टरनेशल स्टेडियममा हुनेछ । बंगलादेश, पाकिस्तान र अफगानिस्तानले यू – १९ एसियाकप खेल्ने टोली घोषणा गरिसकेका छन् ।

नेपालले २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । एक साताको बन्द प्रशिक्षणपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।

नेपालले यसै साता सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिता आधारमा खेलाडी छनोट गरेको जनाएको छ ।