Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सङ्क्रमणकालीन न्याय प्रकृयामा गम्भीर धक्का, अग्नी सापकोटाबारे उठ्यो प्रश्न


0
Shares

जेनेभा । सरकारद्वारा चालिएका पछिल्ला कदमहरूले नेपालको सङ्क्रमणकालीन न्याय प्रकृयामा एउटा गम्भीर धक्का पु¥याएको आइसिजे, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनललगायतका संस्थाहरुले जनाएका छन् ।

पर्याप्त परामर्श नगरिकन र नेपालको सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुरुप हुनेगरी विद्यमान कानुनी संरचनालाई संशोधन नगरी सङ्क्रमणकालीन न्यायका दुई आयोगहरूमा आयुक्तहरू नियुक्त गर्ने सरकारको निर्णयप्रति यी संस्थाहरूले चासो व्यक्त गरेका छन् ।

“द्वन्द्व कालमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनहरूमा न्याय र जवाफदेहीता सुनिश्चत गर्नका लागि एउटा पारदर्शी प्रकृयाको आवश्यकता पर्दछ भन्ने कुराको नेपालका राजनीतिक नेताहरूलाई ज्ञान छ तर उहाँहरू यस्ता ज्यादतीमा जिम्मेवारहरूलाई संरक्षण गर्ने प्रयत्न गरिराख्नुभएको छ,” ह्युमन राइट्स् वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले भनिन् । “यदि राजनीतिक नेतृत्त्वले जवाफदेहीताबाट यसरीनै पन्छिराख्ने हो भने यसले पीडितका सामु देशबाहिरका अदालतहरूसामु जानु भन्दा अर्को विकल्प रहने छैन ।”

सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका आयुक्तहरूको नाम सिफारिसका लागि सरकारद्वारा गठित पाँच सदस्यीय समितिले गत माघ ४ गते आफ्नो मनोनयन सरकारलाई बुझाएको थियो ।

नेपालको अन्तर्राष्ट्रिय दायित्वसँग मेल खाने गरी र पीडितका सरोकारहरूलाई संबोधन गर्ने गरी पहिला सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनी ढाँचालाई संशोधन गर्न पीडित सुमदाय र नागरिक समाजद्वारा हुँदै आएको लामो समयदेखिको मागका बाबजुत पनि समितिले नाम सिफारिस गरेको थियो ।

यसको अतरिक्त पौष २८ मा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले हतार हतारमा सङ्क्रमणकालीन न्याय कानुनसम्बन्धी तीन घण्टे प्रदेशस्तरीय परामर्श गरे पनि उक्त परामर्शमा पीडित र नागरिक समाजको अर्थपूर्ण सहभागिताका लागि निकै कम समय भएको ति संस्थाहरुले विज्ञप्तीमार्फत जनाएका छन् ।

“यसरी हतारमा र गोप्य ढङ्गका परामर्शहरू गर्नका लागि सरकारद्वारा भएको उक्त निर्णयले पीडित र नागरिक समाजको लामो समयदेखिको मागलाई उचित सम्मान गर्न सकेको छैन,” आइसिजेका एसिया प्यासिफिक निर्देशक फ्रेडरिक रवास्कीले भने । “सरकारको यो कदमले पीडित मैत्री र मानवअधिकार सङ्गत प्रकृयालाई समर्थन गर्ने भनी राजनीतिक नेतृत्त्वहरूले भन्ने गरेको भनाइलाई गम्भीरताका रूपमा लिन एकदमै कठिन भएको छ ।”

पीडित समुदाय र मानवअधिकार सङ्गठनहरूले यो नियुक्ति र परामर्शलाई इन्कार गरेका छन् र यस्तो अपारदर्शी र परामर्शविहीन तथा पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई कमजोर पार्ने सङ्क्रमणकालीन न्याय प्रकृयालाई समर्थन नगर्ने कुरा दोहोर्याएको विज्ञप्तीमा भनिएको छ ।

त्यतिमात्र होइन यसका अलावा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो सचिवलाय बैठकबाट सङ्घीय संसदको सभामुखका रूपमा अग्नी सापकोटालाई मनोनित गरिनु पनि गम्भीर विषय भएको ति संस्थाहरुले जनाएका छन् ।

किनकी संसदका सदस्य तथा नेकपाका स्थायी समिति सदस्य सापकोटामाथि २०६२ सालमा भएको काभ्रेका अर्जुन लामाको अपहरण पछिको हत्यामा जिम्मेवार रहेको आरोप रहेको छ । यो मुद्दा नेपालको सर्वोच्च अदालत लगायतमा विचाराधिन अवस्थामा रहेको छ । पूर्ण र स्वतन्त्र अनुसन्धान नभइन्जेलसम्मका लागि नेकपाले संसदको सभामुखका रूपमा गरिएको सापकोटाको मनोनयनलाई पुनर्विचार गर्नुपर्ने ति संस्थाहरूले भनेका छन्

“मानवअधिकार ज्यादतीका घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिहरूलाई सो अनुसन्धानमाथि नै हस्तक्षेप गर्नेगरी नेपालका अधिकारीहरूले उनीहरूलाई उच्च ओहोदामा मनोनयन गर्न हुँदैन,” ट्रायल इन्टरनेसनलका कार्यक्रम व्यवस्थापक अड्रि ओट्लीलले भनिन् । “यस्ता नियुक्तिहरू द्वन्द्वकालीन मानवअधिकार ज्यादतीका पीडकहरूलाई जवाफदेही बनाउनमा सरकारद्वारा एउटा सामान्य प्रतिबद्धता देखाउन पनि अनिच्छा गरिएको कुराको थप उदाहरण हो ।”

२०६४ फाल्गुन २७ मा सर्वोच्च अदालतले प्रहरीलाई अर्जुन लामाको अपहरणपछिको हत्या घटनामा सापकोटाको विरुद्ध मुद्दा दर्ता गर्न र अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । प्रहरीले उक्त आदेशलाई मानेन । सन् २०१० मा अस्ट्रेलिया र अमेरिकाले सापकोटा विरुद्धका गम्भीर मानवअधिकार उल्लङ्घन आरोपको कारण देखाउँदै प्रवेशाज्ञा जारी गरेका थिएनन् ।

२०६८ वैशाखमा सापकोटालाई सूचना तथा सञ्चार मन्त्रीमा नियुक्ति गरिँदा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायुक्तको कार्यालयले चासो व्यक्त गर्दै एउटा विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिले कुनै पनि उच्च सार्वजनिक पदमा नियुक्त गर्नुपूर्व सम्बन्धित व्यक्तिउपर परेका उजुरीहरूको पूर्ण अनुसन्धान प्रकृयाबाट उक्त व्यक्ति पूर्णतया दोषमुक्त प्रमाणित गर्ने जिम्मेवारी राज्यको रहेको जनाएको थियो ।

इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले सङ्क्रमणकालीन न्याय संयन्त्रका लागि पटक पटक चासो व्यक्त गरेका छन् ।

प्रभावकारी सङ्क्रमणकालीन न्याय प्रणालीका लागि अन्तर्राष्ट्रिय कानुन र असल अभ्यासअनुरुपको बलियो कानुनी जग र द्वन्द्वपीडितहरूको चासोहरूलाई संबोधन गर्ने राजनीतिक इच्छाशक्ति आवश्यक पर्दछ, यी संस्थाहरूले विज्ञप्तीमार्फत भनेका छन् ।

कानुनी संरचनामा उठाइएको मूख्य चासोहरूमा अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार दायित्वअन्तर्गतका निर्दिष्ट अपराधहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका उल्लङ्घनहरूबीचको परिभाषामा रहेको अन्तर, गाम्भीर्यताका आधारमा समानुपातिक दण्ड सहितको अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधहरूमा फौजदारी जवाफदेहीता सुनिश्चित गर्ने सवालमा रहेका अपर्याप्त प्रावधानहरू, र द्वन्द्वका उत्तरजीवी तथा तिनका परिवारलाई अन्य स्वरूपको परिपूरण र उपचार उपलब्ध गराउनुको साटो क्षतिपूर्ति मात्रैमा देखिएको निर्भरता मूख्य रहेको जनाइएको छ ।

सरकारले २०७१ सालको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनलाई सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मानवअधिकारको मापदण्डबमोजिम हुनेगरी संशोधन गर्नुपर्दछ, यी मानवअधिकार समूहहरूले भने ।

‘सरकारले आयुक्तहरूको नियुक्तिका लागि साँच्चैको परामर्शमूलक र पारदर्शी प्रकृयालाई अघि बढाउनुपर्दछ । र सरकार द्वन्द्वकालीन अपराधहरूमा आरोपितहरूलाई विश्वसनीय र निष्पक्ष अनुसन्धानका माध्यमबाट दोषमुक्त प्रमाणित नगरुन्जेल उनीहरूलाई सार्वजनिक पदहरूमा नियुक्त गर्ने कार्यबाट टाढा रहनुपर्दछ ।’

“नेपाल सरकार र राजनीतिक दलहरूले बढ्दो रूपमा के देखाइरहेका छन् भने उनीहरू द्वन्द्वपीडितलाई घरभित्रै सत्य, न्याय र परिपूरण प्रदान गर्न अनिच्छुक र असक्षम छन्,” एम्नेस्टी इन्टरनेसनलका दक्षिण एसिया निर्देशक बिराज पटनायकले भने ।

“उनीहरूले देखाएको दण्डहीनताको सङ्केतले पीडित र अधिकारकर्मीहरूलाई विश्वव्यापी क्षेत्राधिकारअन्तर्गत अन्तर्राष्ट्रिय तवरबाट न्याय खोज्ने बाटोतर्फ धकेल्नेछ । फौजदारी जिम्मेवारीमा सन्दिग्धलाई शक्तिशाली पदहरूमा पदासीन गराउनुको साटो सरकारले उनीहरूलाई निष्पक्ष सुनुवाइको माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्दछ ।”