२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अत्याधिक चिसो बढेपछि मुस्ताङका केही विद्यालय बन्द, १ सय ४३ विद्यार्थी तनहुँ झरे


0
Shares

-उपेन्द्र खनाल/ईमेज

मुस्ताङ । मुस्ताङमा अत्याधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो ।

मुस्ताङको जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४३ विद्यार्थीलाई तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको लागि ल्याइएको हो ।

उनीहरुसँगै २१ शिक्षक र चार जना कार्यालय सहयोगी पनि अध्यापन गराउन तनहुँ आएका छन् । कात्तिक महिनादेखि नै मुस्ताङमा पानी जम्ने कारणले बालबालिका बढी प्रभावित हुने गर्दछन् ।

विद्यार्थीहरुलाई चिसोबाट पनि बचाउन मद्धत पुग्ने र फरक ठाउँको वातावरणसँग पनि घुलमिल हुन सहयोग मिल्ने भएकाले अन्यत्र सारिएको जनज्योती आधारभूत विद्यालय मुस्ताङका प्रधानाध्यापक निग्मा ठिनी गुरुङ बताउँछन् ।

मुस्ताङबाट गत पुस १७ गते आएका उनीहरु फागुन १५ गतेसम्म यही बसेर अध्ययन गर्ने गर्दछन् । विद्यार्थी तथा शिक्षकको खर्च भने गाउँपालिकाले नै ब्यहोर्ने जनज्योती आधारभूत विद्यालय मुस्ताङका शिक्षक दुर्गाप्रसाद् पौडेल बताउँछन् । बालबालिकासँगै उनीहरुका अभिभावक पछि जाडो छल्न अन्यत्र जाने गरेका छन् ।

विद्यार्थी संख्या धेरै भएकाले व्यवस्थानपमा भने समस्या भएको विद्यालयले जनाएको छ । चिसो बढेपछि मुस्ताङको विद्यालयमा अध्ययन गर्नै गाह्रो हुने गरेको विद्यार्थीहरु बताउँछन् ।

पढाइ नविगार्ने उदेश्यले गाउँपालिकाले उनीहरुका लागि यो उपाय अपनाएको हो । मुस्ताङमा यो समयमा तापक्रम माइनस २० देखि ३० डिग्रीसम्म पुग्ने गर्दछ ।