Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


रेल चढ्ने क्रममा छुटेका सन्तोषकुमार १२ बर्षपछि घर फर्किए (भिडियो)


0
Shares

-दीपक घिमिरे/ईमेज

भैरहवा । सात वर्षको उमेरमा बाबुआमाबाट बिछोडिएका बाँके राप्ती सोनारीका सन्तोषकुमार सुनार घर फर्किएका छन् ।

आमाबाबु रोजगारीको सिलसिलामा भारतको लुधियाना जाँदै गर्दा रेल चढ्ने क्रममा हराएका सुनार १२ बर्षपछि घर फर्किएका हुन् ।

उनका बाबु अमरबहादुर सुनारले खोजी गर्नका लागि धेरै पहल गरेको भएपनि उनी फेला पर्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पहलमा बाबुआमासँग हराएका छोराको पुनर्मिलन गराइएको हो ।

भारतस्थित नेपाली दुतावासको समन्वय तथा प्रवासी नेपाली मित्रमञ्च र मानवकल्याण मित्र मञ्च नेपालको सक्रियतामा १९ वर्षीय सन्तोषले अभिभावकको साथ पाएका हुन् । आश मारिसकेको छोरा फर्केर आउँदा सुनार दम्पती निक्कै खुसी भएका छन् ।

२०६४ सालमा भारतको लुधियानामा रेलमा चढ्दा छुट्न गएका सन्तोषलाई लखनउमा फेला पारिएको थियो ।

हराएको चार वर्षपछि फेला परेका उनले आमा बाबुको सही नाम समेत बताउन सकेका थिएनन् ।

घर नेपाल बताए पनि आमा बाबुको राम्रो परिचय नपाउँदा त्यहाँका स्थानीयले बालगृहमा लगेर बुझाएका थिए । भारतको विभिन्न बालगृह हुँदै उनलाई राजकीय बालगृहमा लगियो ।

बालगृहले सन् २०१८ जुन १३ मा भारत स्थित नेपाली राजदूतावासमा खबर गरेको थियो ।

राजदूताबासको पत्रसाथ नेपाली मित्र मञ्चका संयोजक दुर्गाप्रसाद अर्याल र मानव कल्याण मित्र मञ्च नेपालको सक्रियतामा चार बालकलाई ०७५ साउन ५ गते नेपाल ल्याइएको थियो ।

नेपाल ल्याइएका उनलाई आफन्त फेला नपर्दासम्मको लागि जिल्ला प्रहरी कार्यालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको जिम्मा लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई नेपाल अविनास अनाथ आश्रम कोटिहवाको बालगृहमा जिम्मा लगायो ।

त्यहाँ उनलाई खाना बस्नसहित अध्ययन गर्ने सुविधा समेत बालगृहले व्यवस्था गरेको थियो ।

सन्तोषका आफन्तको कुनै अत्तोपत्तो नभएपछि उनलाई कोटिहवा स्थित पशुपति उच्च माविमा कक्षा ८ मा भर्ना गरियो ।

कक्षा ८ मा पढ्दै गरेका उनको परिवारको खोजी कार्य भने जारी रहेको थियो ।

परिवारको खोजी गर्दै जाँदा गाउँलेको सल्लाहमा पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

सन्तान हराएको पीडामा रहेको अभिभावकको अनुहारमा १२ वर्षपछि अहिले भने मुस्कान देखिएको छ ।