Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पुनःनिर्माणको नाममा जयवागेश्वरी मन्दिरको इतिहास मेटिने खतरा


0
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, माघ १० । २०७२ सालको विनाशकारी भूकम्पले मौलिक सम्पदाको विनासमात्र गरेन, लुकेका केही इतिहास पनि उजागर गरेको छ ।

तर, गहन अनुसन्धान नहुँदा सम्पदाको इतिहास नामेट हुने खतरा पनि त्यतिकै छ ।

यसको एउटा उदाहरण हो, पाशुपत क्षेत्र ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर ।

आलाकाँचाको हातमा परेका कारण हजारौं वर्ष पुरानो इतिहास पुनःनिर्माण र विकासको नाममा मासिँदै छ । नासिँदै जाने खतरा बढेको छ ।

अधिकार पाएका निकायहरुमा जागिर खानेमात्र मानसिकता भएकाले पुर्खाले बचाएर राखेका अमूल्य सम्पदाहरुसमेत बचाउन नसकिने अवस्था देखिएको छ ।

लिच्छविकालभन्दा पुरानो जयवागेश्वरी मन्दिरको पुनःनिर्माणको क्रममा भेटिएका तथ्यहरु नेपालकै धार्मिक, साँस्कृतिक, कला र भाषालगायत अध्ययनका लागि महत्वपूर्ण अवसर थियो । तर, यो अवसर पनि गुम्दैछ ।

विज्ञ एवं बुद्धिजीवीहरु विभिन्न कालखन्डमा बनेको जयवागेश्वरी मन्दिर पुर्खाकै सचेतनाका कारण मन्दिरको पुरानो स्वरुपमाथि नयाँ स्वरुपमा मन्दिर बनेको तर अहिले नयाँ बनाउने होडमा पुर्खाले बचाएर राखेका सम्पदा संरक्षण र सम्मानसमेत गर्न नसकेको दुःखेसो व्यक्त गरेका छन् ।

कला तथा संस्कृतिविद् प्रा. डा. मिलनरत्न शाक्यले भित्तेचित्र लिच्छविकालको भएको भन्दै मन्दिरमा अंशुवर्माको भित्तेचित्रसमेत रहेको खुलासा गरे ।

जयवागेश्वरी बौद्ध क्षेत्र भएको भन्दै उनले लिच्छविकालमा पशुपति क्षेत्र शैव र हाँडीगाउँ वैष्णव क्षेत्रको रुपमा धार्मिक सद्भावको केन्द्र भएको बताउँछन् ।

मन्दिरको गहन अध्ययन गर्नसके नेपालको इतिहासमा नयाँ तथ्य उजागर हुने देखिन्छ । तर, जगदेखि नै मन्दिरको पुनःनिर्माण गरिँदैछ ।

पुरातात्विक सम्पदा संरक्षणका लागि धैर्य र समय आवश्यक हुन्छ । तर, यो धैर्यता कसैमा देखिएको छैन । तर पनि विज्ञ एवं बुद्धिजीवीको सल्लाहलाई हृदयंगम गरी आवश्यक कदम चाल्नु अत्यावश्यक छ ।

भिडियो हेर्नुहोस्