Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


महिला हिंसाविरुद्धको कानून कार्यान्वयन गर्न सरकारसँग माग


0
Shares

काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिले आज काठमाडौंमा गरेको कार्यक्रममा समितिकी सभापति निरु देवी पालले महिला हिंसा विरुद्धका पर्याप्त कानुन भएपनि कार्यान्वय पक्ष चुस्त हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले प्रभावकारी ढंगले कानुन कार्यान्वयन गर्न सके हिंसा न्युनीकरणमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने बताउनुभयो । पालले निर्णायक तहमा रहेका महिलाले पनि हिंसा व्यहोरिरहेको प्रसंग उल्लेख गर्दै कानून कार्यान्वयनका अप्ठ्यारा पक्षमाथि समिक्षा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रदेश १ की पुर्वमन्त्री उषाकला राईले महिला पुरुष समानताको लडाई अहिले पनि लडिरहनुपरेको भन्दै सबैको साथ आवश्यक रहेको बताउनुभयो । हरेक राजनीतिक र सामाजिक परिर्वतन तथा संघर्षमा महिलाको योगदान अतुलनिय रहेको भएपनि राज्यसत्ता र पार्टी नेतृत्वमा अहिले पनि पुरुष नै रहेकाले महिला समानताको विषय सम्बोधन भइनसकेको उहाँको भनाइ थियो ।

कार्यक्रमका अन्य सहभागीहरुले पनि कानुनको प्रभावकारी कार्यान्वयन र समीक्षा गर्नु पर्नेमा जोड दिएका थिए ।