सिर्जना थापा । भिडियोः राजेन्द्र नापित (इमेज) ।
काठमाडौं, माघ ९ । नयाँ शैक्षिकसत्र सुरु हुन दुई महिनामात्र बाँकी छ ।
हरेक वर्ष दुर्गम जिल्लाका विद्यार्थीहरुमाझ समयमा पुस्तक नपुग्दा उनीहरुको पढाइमा समस्या पर्ने गरेको छ ।
यो समस्यालाई मध्यनजर गर्दै जनक शिक्षा सामग्री केन्द्रले यसपटक पुस्तक छपाइलाई तीव्रता दिएको छ ।
पाठ्यक्रम विकास केन्द्रले छपाइ सामग्री समयमै उपलब्ध गराएपछि जनक शिक्षाले पुस्तक छपाइको कामलाई तीव्रता दिएको हो ।
दुर्गम क्षेत्रका सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई समयमै पुस्तक उपलब्ध गराउने लक्ष्यसहित केन्द्रले कक्षा–५ देखि १० सम्मका पाठ्यपुस्तक धमाधम छापिरहेको छ ।
पुस्तक अभाव हुने समस्या दोहोरिन नदिन हरसम्भव प्रयास भइरहेको केन्द्रका प्रवक्ता चित्र आचार्यले जानकारी दिए ।
विगतका वर्षहरुमा दुर्गम जिल्लाहरुमा पुस्तक नपुगेको गुनासो आउनु सामान्यजस्तै थियो ।
तर, दुई वर्षदेखि यो समस्या कम भएको र बेलैमा पाठ्यपुस्तकहरु जिल्लाहरुमा पुगेको प्रवक्ता आचार्यको दाबी छ ।
केन्द्रमा अहिले २४ सै घन्टा निरन्तर छपाइको काम भइरहेको छ ।
हाल जनक शिक्षासँग तीनओटा अत्याधुनिक प्रेस र पर्याप्त जनशक्ति भएकाले दैनिक एक लाखभन्दा बढी पुस्तक छपाइ भइरहेको छ ।
दुई करोड ११ लाख पुस्तक छाप्ने लक्ष्य लिएको केन्द्रले हालसम्म एक करोड २० लाख पुस्तक छापिसकेको जानकारी आचार्यले दिए ।
त्यसो त केन्द्रले पुस्तक छपाइलाई उपत्यकाबाहिर पनि विस्तार गर्दैछ । बाँकेको खजुरामा छापाखाना स्थापना गरिसकेको छ भने सुदूरपश्चिममा पनि छापाखाना स्थापनाको तयारी गरिएको छ ।
यसपटक चैत महिनाभित्रै छपाइ सकेर वैशाख पहिलो साता विद्यार्थीमाझ पुस्तक पुर्याइसक्ने केन्द्रको लक्ष्य रहेको छ ।









प्रतिक्रिया दिनुहोस्