Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


एमालेको महाधिवेशन र पञ्चर्‍याली उस्तै : अध्यक्ष दाहाल


0
Shares

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको भर्खरै सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनलाई पञ्चर्‍यालीसँग तुलना गर्नुभएको छ ।

शनिबार चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेको महाधिवेशन प्रतिक्रान्तिलाई बलियो बनाउन आयोजना गरिएको बताउनुभयो । तर, एमालेको त्यो प्रयास असफल भएको उहाँको टिप्पणी छ ।

‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ, त्यो पार्टी मण्डलेहरूकाे मोर्चामा पतन भएको छ ,’ उहाँले भन्नुभयाे, ‘पञ्चर्‍याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन, यसैगरी लाखौंलाख मान्छे उतारेको पन्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन ।’

प्रतिक्रियावादी शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै उहाँले विश्वभरी नै पराजित शक्तिले पुनःस्थापित हुनका लागि षडयन्त्र गरेको भन्दै प्रयास असफल हुने जिकिर गर्नुभयो ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पार्नुभयो ।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गर्नुभयो ।