चिसोमा श्वासप्रश्वासम्बन्धी समस्या बढी देखिन्छ, न्यानो भएर बसौं : डा. रमेश सापकोटा « Image Khabar


चिसोमा श्वासप्रश्वासम्बन्धी समस्या बढी देखिन्छ, न्यानो भएर बसौं : डा. रमेश सापकोटा


52
Shares

अहिले चिसोको मौसम छ । चिसो मौसममा विशेषतः बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित हुन्छन् ।

यो समयमा बालबालिका निमोनियबाट बढि प्रभावित हुन्छन् भने अन्यलाई श्वासप्रश्वासम्बन्धी रोगको प्रभाव बढी देखिन्छ । चिसो मात्र होइन अहिले कोरोना महामारीको जोखिम पनि उत्तिकै बढेको छ । नयाँ आएको ओमिक्रोन भेरियन्ट विश्वभर फैलिँदो क्रममा छ ।

यसै सन्दर्भमा चिसोबाट लाग्ने रोगहरू, त्यसको असर र बच्ने उपायका साथै कोरोनाको नयाँ भेरियन्टका विषयमा ईमेजखबरका लागि वर्षा पोखरेल र कलसा पोखरेलले जनरल फिजिसियन डा. रमेश सापकोटासँग गरेको कुराकानीको सम्पादित अंशः–

चिसो मौसममा कस्ता किसिमका रोगहरू लाग्न सक्छन् ?
चिसोमा विशेषगरी श्वासप्रश्वास सम्बन्धी रोगहरू लाग्दछन् । १ वर्षमुनिका बालबालिकामा निमोनियाको जोमिख उच्च रहन्छ भने वयस्कहरूमा सिओपिडी दमका समस्या देखिन्छन् ।

कुन उमेर समूहलाई चिसोले बढी असर गर्छ ?
विशेषगरी चिसोले बालबालिका र ६० वर्ष कटेका वृद्धवृद्धालाई बढी असर गर्दछ । यसका साथसाथै रोग प्रतिरोधात्मक क्षमता कम भएका विरामीलाई पनि श्वासप्रश्वाससम्बन्धी रोग लाग्छ । मिर्गौलापीडित, बाथ रोगका विरामी, एचआइभी संक्रमित र किमोथेरापी गराइरहेकाहरूमा चिसोले बढी असर गर्छ ।

चिसोबाट बच्न के–के गर्न जरुरी छ ?
चिसोबाट बच्न मौसम सुहाउँदो शरीर ढाकिने कपडाहरू लगाउनुपर्छ । मोटरसाइकल चलाउँदा पञ्जा र टोपी लगाउँदा चिसोबाट हुने सङ्क्रमणबाट जोगिन सकिन्छ । आफूलाई तातो राख्नका लागि झोलिलो र तातो कुराहरू खाने, गाउँघरमा आगो ताप्ने र शहर बजारमा हिटर तथा एसीको प्रयोग गर्न सकिन्छ ।

चिसोले शरीरमा चाहिँ कस्तो असर गर्छ ?
चिसोमा श्वासप्रश्वास सम्बन्धी रोगहरू निमोनिया, सिओपिडी, दम देखा पर्दछन् । यस्तै, पेटसम्बन्धी समस्या, भाइरल डायरिया र छाला पनि सुख्खा हुने गर्दछ । तर यसले विशेष गरी श्वासप्रश्वासलाई नै सताउँछ ।

चिसो लाग्नुको विशेष कारण के होला ?
चिसो लाग्नुको मुख्य कारण, समयअनुकुल कपडा छनोट गर्न नसक्नु हो । हामीले राति सुत्दा पनि विशेष ध्यान दिनुपर्छ । दिउँसोको समयमा हामी ख्याल राख्छौ । तर, राति ८/९ घण्टा सुत्दा चिसो लाग्न सक्छ । त्यसैले टोपी लगाएर सुत्न सकिन्छ । चिसोले हिमाली भेगमा र शीतलहरूको प्रभाव पर्ने तराई भेगका मानिस बढी समस्या हुन्छ । उनीहरूलाई आगो ताप्न र सरकारी निकायबाट दाउरा वितरण गर्न सकिन्छ ।

चिसोबाट बच्न लगाइने भ्याक्सिन पनि लगाइन्छ । यो कस्ता व्यक्तिले लगाउनुपर्ने हो ?
चिसोबाट बच्न इफ्लुइन्जा नामक भ्याक्सिन लगाइन्छ । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई पहिलो पटक लगाएको एक महिनापछि दोस्रो पटक लगाउनुपर्छ भने त्यसभन्दा माथिकालाई हरेक वर्ष लगाउँदा चिसोबाट हुनसक्ने विभिन्न संक्रामक रोगहरूबाट बच्न सकिन्छ । यो सामान्य मानिसले वर्षमा एकपटक लगाउँदा हुन्छ ।

रुघाखोकी लागेमा कोभिडको लक्षण हो कि सामान्य रुघाखोकी हो भनेर कसरी थाहा पाउने ?
कोभिड र रुघाखोकीलाई लक्षण नै हेरेर छुट्याउन सकिँदैन । तर, कोभिडको समयमा रुघाखोकीलाई पनि कोभिडको रूपमा लिइन्छ । यो एउटा राम्रो पक्ष पनि हो । यसबाट कसैलाई खतरा हुन सक्दैन । यो छुट्याउने एउटै उपाय पीसीआर प्रविधिबाट गरिने कोभिड परीक्षण हो । यो पोजेटिभ आए कोभिड र नेगेटिभ आए ब्याक्टेरियल वा भाइरल इन्फेक्सन भनेर बुझ्नुपर्छ ।

के चिसो मौसममा कोभिडको संक्रमणदर उच्च हुन्छ ?
चिसो मौसममा कोभिडको संक्रमण उच्च हुने तथ्य अहिलेसम्म अनुसन्धानले पुष्टि गरेको छैन । नेपाल लगायतका देशमा गर्मी मौसममा कोभिडले महामारीको रुप लियो । त्यसले गर्दा चिसो बढी देशमा कोभिडको संक्रमण उच्च हुन्छ भन्न सकिँदैन । तर, दम भएका जेष्ठ नागरिकलाई भने चिसोमा कोभिडले सताउने समस्या धेरै हुन्छ । चिसोमा कोभिडले दुःख दिन्छ । तर, कोभिड नै लाग्छ भन्न सकिँदैन ।

कोभिडको ओमिक्रोन भेरियन्टको बारेमा बताइ दिनुस् न ?
यो साउथ अफ्रिकाबाट आएको कोभिडको नयाँ स्वरूप हो । भाइरसको स्वरूप परिवर्तन हुनु नयाँ कुरा होइन । यसको बारेमा सबै अध्ययन नभएकाले यसको प्रारुपको विषयमा ठ्याक्कै भन्न सकिँदैन । कोरोनाले भन्दा बढी क्षति पु¥याउँछ कि कम, कोभिडको भ्याक्सिनले यसलाई काम गर्छ कि गर्दैन, यो कति छिटो फैलिन्छ भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ । यसबारे जे जस्ता कुरा आए पनि नआत्तिन र सजग हुनसके डर मान्नुपर्दैन ।

कुन उमेर समूहका बालबालिकालाई कोभिड भ्याक्सिन लगाउनुपर्छ ?
अहिलेसम्मको अवस्थामा १२ वर्षभन्दा माथिका बालबालिकालाई कोभिड भ्याक्सिन दिन मिल्छ । त्यसैअनुरूप १२ वर्षमाथिका दीर्घरोगीलाई भ्याक्सिन दिन सुरु पनि भइसकेको छ भने केही दिनभित्रै १२ वर्ष माथिका अन्य बालबालिकालाई दिन लागिएको छ । त्यसभन्दा मुनिका बालबालिकालाई दिइने कोभिडविरुद्धको भ्याक्सिनको विषयमा अहिले अनुसन्धान भइरहेको छ ।