पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा मतदान जारी रहेको छ ।
दुई पदका लागि भएको निर्वाचनमा तीन दलका ५ जना उमेदवार रहेका छन । २ सय ३० मतदाता रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १ सय ७० गरी २ सय ३० मतदाताले जिल्ला निर्वाचन कार्यालय पोखराको परिषदमा मतदान गरिरहेका छन् ।
प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । गण्डकी प्रदेशमा प्रदेशसभाको दुई हजार ८ सय ८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार रहेको छ ।
‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट गरी पाँच उम्मेदवार बनेका छन् ।
नेकपाबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन् । काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ ।
जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार छन् । निर्वाचनका लागि गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय कास्कीलाई मतदान केन्द्र तोकिएको छ ।
मतदानको दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय प्रमुख महेन्द्र सुवेदीले बताए ।
मतदान गर्नका लागि गण्डकीमा प्रदेशसभा र स्थानीय तहको छुट्टाछुट्टै दुई केन्द्र तोकिएको छ ।
सत्तारूढ नेकपाका प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १२३ मतदाता छन् । नेकपाको कूल मतभार तीन हजार ४ सय १४ छ । काँग्रेसको प्रदेशसभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् । काँग्रेसको कूल मतभार दुई हजार १ सय ७८ छ ।
राष्ट्रिय जनमोर्चाको प्रदेशसभामा तीन तथा अध्यक्ष स्थानीय तहमा तीन गरी छ मतदाता रहेकामा १ सय ९८ मतभार छ ।
समाजवादी पार्टीको प्रदेशसभामा दुई मतदाता बराबर ९६ मतभार छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा रहेको दुई मत बराबर ३६ मतभार छ । स्थानीय तहका एक स्वतन्त्र मतदाताको १८ मतभार छ ।










प्रतिक्रिया दिनुहोस्