काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्नको लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको पार्टीको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।
विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहनुभएको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।
प्रवक्ता महराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरूको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताउनुभयो ।
बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । यस्तै, राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्