रसुवा । भारी हिमपातसँगै सुख्खा पहिरोका कारण एक सातादेखि अवरुद्ध रसुवागढी–केरुङ सडकखण्ड सुचारु भएको छ ।
गत शुक्रबारदेखि अवरुद्ध चिनियाँ भुभागको रसुवागढी–केरुङ सडक खण्ड बुधवार साँझदेखि सुचारु भएको हो । चिनियाँ भूभाग ठोङ्सा भन्दा करिब २ किलोमिटर तल र नाकाभन्दा करिब ६ किलोमिटरमाथि दुई ठाउँमा सुख्खा पहिरो गई सडक अवरुद्ध भएको थियो ।
सडकमा रहेको हिउँ तथा पहिरो पन्छाएसँगै हिजो साँझबाट सडक सुचारु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । सडक सुचारु भएसँगै केरुङमा रोकिएर बसेका मालबाहक कन्टेनरहरु आज बिहानबाट नै नेपाल प्रवेश गरेका छन् ।
रसुवागढीबाट अब १५ दिन आयात–निर्यात नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण चीनमा सार्वजनिक बिदा हुने भएकाले आयात–निर्यात नहुने भएको हो । चिनियाँ भन्सारका अनुसार मंगलबारदेखि नै सार्वजनिक बिदा दिइएको छ ।
आयात–निर्यात नहुने भएपछि चीनको केरुङमा रहेका व्यापारी तथा व्यवसायी सोमबारदेखि नै नेपाल फर्कन थालेका छन् ।









प्रतिक्रिया दिनुहोस्