Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


डिलाशैनी गाउँपालिका कार्यालयमा आगजनी : नेकपा अध्यक्षको घरमा बम


0
Shares

बैतडी । डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात  समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरेको हो ।

यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो ।

यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ ।

पालकै से१च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ । आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।

राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ ।

नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ ।

डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ ।  रासस