सुसन रामदाम र राजेन्द्र नापित (इमेज)
काठमाडौं, माघ ७ । काठमाडौंको खुलामञ्चलाई माघ १ गतेदेखि ‘पार्किङ निषेध’ भनिएपनि यो निर्णय औपचारिकतामा मात्र सीमित भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर–२८ ले राखेको पार्किङ निषेध लेखिएको सूचनाको व्यानर अज्ञात समूहले रातारात हटाइएको मात्र छैन, झन् खुलामञ्चमा पार्किङको चाप अघिपछिको तुलनामा बढेको छ ।
खुलामञ्चलाई खुला नै राख्नुपर्छ भन्दै माघ १ गतेदेखि पार्किङ निषेध गरिएपनि व्यवहारमा कार्यान्वयनमा भने आउन सकेन ।
काठमाडौं महानगर वडा नम्बर–२८ ले राखेका पार्किङ निषेधका सूचनाको व्यानर हटाइएको छ भने निजी तथा सार्वजनिक सवारीको पार्किङको चाप बढेको छ ।
अस्तव्यस्त थुपारिएको निर्माण सामग्री र अस्थायी भवनहरुले खुलामञ्चको स्वरुप बिग्रिएको मात्र छैन, पार्किङले गर्दा झनै कुरुप देखिएको छ ।
खुलामञ्च पार्किङले भरिभराउ भएको देख्दा ‘अकुपाई टुँडिखेल’का अभियन्ताहरुसमेत थप चिन्तित बनेका छन् ।
पार्किङ माफिया र महानगरकै केही व्यक्तिहरुको चलखेलका कारण माघ १ गतेदेखि खुलामञ्चलाई खुला गर्ने निर्णय कार्यान्वयन हुन नसकेको अभियन्ताहरु बताउँछन् ।
कुनै समय राजनीतिक पार्टीले आमसभा गर्ने र जनताहरुले बसिबियाँलो गर्ने खुलामञ्चमा यतिबेला वीर अस्पताल र दरबार हाईस्कुलका निर्माण सामग्रीहरु असरल्ल छरिएर रहेका छन् ।
निर्माण सामग्री राख्न काठमाडौं महानगरपालिकाले खुलामञ्च उपलब्ध गराएको भएपनि तोकिएको समयावधि सकिँदा पनि वीर अस्पताल र दरबार हाईस्कुलले कानमा तेल हालेर बसेका छन् । जसले गर्दा पनि अव्यस्थित पार्किङलाई रोक्नुको सट्टा झन् बढावा दिइरहेको छ ।
माघ १ गतेदेखि पार्किङ निषेध गरिएपनि कार्यान्वयनमा नआउनुका विषयमा सूक्ष्म अध्ययन गरेर थप कदम चाल्ने काम भइरहेको काठमाडौं महानगर वडा नम्बर–२८ का अध्यक्ष भाइराम खड्कीले बताए ।









प्रतिक्रिया दिनुहोस्