
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक दलहरुकै कारण लोकतन्त्र धराशायी बनेको टिप्पणी गर्नुभएको छ । नेपाली कांग्रेसका नेता लोकेश ढकालले लेखेको ‘नेपाली राजनीति, राष्ट्र प्रेम, विचार र आदर्र्श’ पुस्तकको विमोचन समारोहमा नेता सिंहले दल र दलका नेता कार्यकर्ताले राजनीतिलाई मेवा खाने बाटो बनाउँदा लोकतन्त्र धराशायी बनेको टिप्पणी गर्नुभएको हो ।
नेपाली राजनीतिमा दलहरु संस्थागत हुन नसकेका कारण जनतामा राजनीतिप्रति वितृष्णा र निराशा छाएको भन्दै नेता सिंहले दलहरु संस्थागत भएमात्र पनि राजनीति र समाजमा देखा परेको धेरै समस्या सुल्झिने जिकिर गर्नुभयो ।
पार्टीको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले २०४६ सालको परिर्वतनपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको बताउनुभयो ।
नेपाली कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक पद्धति नै कमजोर हुने दावी गर्दै आसन्न १४ औं महाधिवेशनमा नेतृत्वका आकांक्षी समेत रहेका सिंहले लोकतान्त्रिक पद्धतिलाई बचाउन अहिलेको नेतृत्वलाई परिर्वतन गरेर प्रभावकारी नेतृत्व ल्याउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले अहिलेको राजनीतिक अस्थिरताको मुख्य कारण वर्तमान संविधान भएको टिप्पणी गर्नुभयो । पुस्तकका लेखक एंव कांग्रेसका नेता लोकेश ढकालले विचार, पद्धति र सिद्धान्तको राजनीतिले मात्र राजनीतिकमा देखिएको प्रदुषण हटाउन सकिने धारणा राख्नुभयो ।




प्रतिक्रिया दिनुहोस्