१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड (फाेटाे फिचर)


0
Shares

काठमाडौं । सरकारले विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड लागेको छ । आज बिहानैदेखि परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा सर्वसाधारणको भीड लागेको हो ।

वैदेशिक रोजगारीमा जाने र विदेशबाट चाडपर्व मनाउन आएकाहरु फर्कनुअघि विद्युतीय राहदानीका लागि विभागमा लामो लाइन लागेको हो । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउने र नवीकरणका लागि सर्वसाधारणको भीड लागेको विभागले जनाएको छ ।

यसअघि गत असोज दोस्रो साता पनि विभागमा केही समय राहदानी बनाउनेको लर्को लागेको थियो । त्यसबेला करिब एक साता बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन सर्वसाधारण लाममा बसेका थिए । कोरोना संकटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झण्डै दुई वर्ष राहदानी बनाउनेको संख्या कम रहेको विभागले जनाएको छ ।

अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज बनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका अधिकारीहरु बताउँछन् । नयाँ विद्युतीय राहदानी दिन थालेसँगै जिल्लामा सो सेवा उपलब्ध नहुँदा देशभरका सेवाग्राही विभागमा आएर लामो समय लाइन बस्न बाध्य भएका हुन् ।