२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


दबूको पत्रकारिता तालिममा सामाजिक उत्तरदायित्वको चर्चा


0
Shares

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

तालिमका सहभागीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार एक समारोहबीच प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा प्रमुख महर्जनले स्थानीय तहलाई जवाफदेही बनाउन सही र तथ्य सूचना प्रवाह गर्दै सिंगो समुदायलाई जवाफदेही बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

समारोहमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले एउटा व्यावसायिक संस्थाले पत्रकारिता तालिमको सहयोग गर्नु व्यावसायिक सामाजिक उत्तदायित्वको सिद्धान्तमा नयाँ अभ्यास रहेको धारणा राख्दै सो कार्य सबैका लागि अनुकरणीय रहेको धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी जोशीले जवाफदेही प्रशासनका लागि पत्रकारहरुसंग मिलेर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले मुलुकको समावेशी विकास र समृद्धिका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै एउटा व्यावसायिक संस्थाले पत्रकारिता विकासको लागि सहयोग गरेको कार्य व्यावसायिक समाजिक उत्तदायीत्वको सिद्धान्तमा नयाँ अभ्यास रहेको धारणा राखे ।

सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका गोल्डेन डायमण्ड ज्वेलरीका अध्यक्ष ज्ञानुराज शाक्यले सही र तथ्य परक सूचना प्रवाह गरेर समाजलाई विकास गर्ने क्षमता पत्रकारिता पेशामा रहेकोले दक्ष पत्रकार उत्पादन गर्न र समावेशी पत्रकारितालाई टेवा पुर्‍याउन सकियोस् भनेर तालिमका लागि सहयोग गरेको बताए ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष तथा तालिम विभाग प्रमुख सुरजवीर बज्राचार्य, महासचिव सुनील महर्जन लगायतले नेपाली पत्रकारितालाई समावेशी बनाउन समाजका सबै पक्षको भूमिका रहेको बताउँदै तालिम सोही भूमिका एउटा उदाहरण रहेकोमा केन्द्रीत गर्दै आआफनो धारणा राखे ।

तालिमको पहिलो दिन वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल टेलिभिजनका गजुरधन राई, इमेज न्यूज एफएमका सुरजवीर बज्राचार्यले प्रशिक्षण दिए ।

शनिबार भएको तालिममा पत्रकारहरु केपी ढुंगाना र युवराज गौतमले अनलाइन पत्रकारिताबारे प्रशिक्षण दिए ।

पत्रकार दबुका उपाध्यक्ष सुरजवीर बज्राचार्यको संयोजकत्वमा भएको सो तालिममा ४० जनाको सहभागिता रहेको छ ।

गोल्डेन डायमण्ड ज्वेलरी ललितपुरको सहयोगमा व्यावसायिक उत्तरदायित्वको सिद्धान्त अनुरुप पत्रकारिता तालिमका लागि सहयोग गर्ने सम्झौता अनुरुप कार्यक्रम गरिएको हो ।