वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा श्रीलंकाको जित « Image Khabar


वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा श्रीलंकाको जित



काठमाडौं । घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ ।

गाले इन्टरनेशनल स्टेडियममा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनले पराजित गरेको हो । दोस्रो इनिङ्समा जितका लागि ३ सय ४८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले केवल १ सय ६० रन जोड्न सक्यो ।

वेस्ट इन्डिजका लागि नकरुमाह वोनरले अविजित ६८ तथा जोसुआ डा. सिल्भाले ५४ रन जोडे । वेस्ट इन्डिजको इनिङ्स धराशायी बनाउन श्रीलंकाका लासिथ इम्बुल्डेनियाले सर्वाधिक ५ विकेट तथा रमेश मेन्डिसले ४ विकेट हात पारे । प्रविन जयाविकरामाले एक विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा श्रीलंकाले कप्तान दिमुथ कारुनारत्नेको १ सय ४७ रनको मदतमा ३ सय ८६ रन जोडेको थियो । वेस्ट इन्डिजका रोस्टन चेजले ५ विकेट लिएका थिए । जवाफमा वेस्ट इन्डिजले पहिलो इनिङ्समा २ सय ३० रनमात्र जोड्न सकेको थियो ।

वेस्ट इन्डिजका लागि कायल मेयर्सले सर्वाधिक ४५ रन जोडेका थिए । दोस्रो इनिङ्स श्रीलंकाले १ सय ९१ रन जोड्दै ४ विकेट गुमाएपछि इनिङ्स समाप्तीको घोषणा गरेको थियो । त्यसपछि वेस्ट इन्डिजले ३ सय ४८ रनको लक्ष्य पाएको थियो । दुई खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ ।