काठमाडौँ– हिन्दुहरुको पवित्र धाम केदारनाथका जगतगुरु भीमाशंकर लिंगले नेपाल हिन्दु राष्ट्र नै रहेको कुरालाई नकार्न नसकिने बताएका छन् ।
मागे संक्रान्तिको अवसरमा चारदिनको नेपाल भ्रमणमा भीमाशंकरले पशुपतिनाथ र केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन् । उनले देवघाट र कालीगण्डकीमा स्नान गरेका छन् ।
यस भ्रमणका क्रममा भीमाशंकरले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट समेत गरेका थिए। भेटमा दुवैबीच विभिन्न विषयमा छलफल भएको थियो । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रको आग्रहमा भीमाशंकरले राजासँग भेट गरेका थिए ।

उनले पुस २९ गते राति निर्मल निवासमा पूर्वराजासँग भेटघाट गरेका छन् । उनीहरुबीच दुई घण्टासम्म कुराकानी भएको थियो । निर्मल निवासमा भीमाशंकर तथा पूर्वराजाबीच के वार्ता भयो त्यसबारे पूर्वराजा सचिवालयले भने केही भन्न चाहेन।
तर भीमाशंकरले उनलाई हिन्दु राष्ट्र प्रमुखका रुपमा केदारनाथको प्रसाद र आशीर्वाद दिएको स्रोतले बताएको छ । भीमाशंकरले नेपाल र भारतबीचको साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने धारणा समेत राखेका थिए ।

विश्लेषकहरुका अनुसार उनीहरुबीचको कुराकानीले नेपालमा राजाको पुनरागमनको संकेत मान्न सकिन्छ । माघे संक्रान्तिको बिहान पशुपतिनाथमा विशेष पूजा गरी भीमाशंकर हेलिकप्टरमा देवघाट पुगेका थिए ।
उनले नवलपरासीस्थित मध्यविन्दुका करिब ५ हजार आदिवासिलाई रुद्राक्षको माला वितरण गरेका छन् । उनले विदेशीहरुद्वारा भइरहेको धर्म परिवर्तन अभियानलाई प्रतिकार तथा अस्वीकार गर्न समेत आग्रह गरेका छन् ।
उनले त्यहाँ संस्कृत महाविद्यालय खोली सबै जातजातीका व्यक्तिहरुका लागि ज्ञानको श्रोतमा पहुँच सुनिश्चित गर्न आफू सक्रिय रहेको बताएका थिए।नेपाल भ्रमणमा रहेका समयमा उनले विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

चार दिनको भ्रमणपछि भीमाशंकर शनिबार गोरखपुरस्थित गोरखनाथ मठ पुगेका थिए। जहाँ मठका प्रमुख महन्थ तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको स्वागत गरेका थिए ।
केही भारतीय सञ्चारमाध्यमले यो भेटघाटलाई अत्यन्त महत्व दिएका छन्। केदारनाथ प्रमुखले नेपालको राज संस्थाको प्रतिनिधि भेटेको यो पहिलो हो।
यसअघि भीमाशंकरले नेपाला भुकम्पबाट प्रभावितहरुका लागि राहत र अन्य समाग्री वितरण गरेका थिए।









प्रतिक्रिया दिनुहोस्