डोलराज रानाभाट
चितवन । सधैं चर्चामा रहने चितवन यति बेला एमालेको १०औं महाधिवेशनका कारण थप चर्चामा छ । ५ लाख बढी कार्यकर्ता उतारेर नारायणी नदी किनारमा महाधिवेशनको उद्घाट्नसभा गर्ने तयारीले चर्चा चुलिएको हो ।
चितवन र गैडाकोट जोड्ने पूलबाट देखिने दृष्य हो यो । यहि पुलबाट सधै नियाल्दा शान्त र एकान्त आभाष गराउने यो नारायणी नदी किनारमा अहिले बिस्तारै मानिसहरुको चहलपहल र कोलाहल बढ्दै गएको आभाष हुन्छ । कारण, एमालेको दशौं महाधिवेशन यही नदी किनारमा हुदैछ ।
त्यसैले यो पूलबाट हिजो देखिने र आज देखिने दृष्य निकै फरक छ । अहिले एमालेका नेता र कार्यकर्ताको ओहोरदोहोर नदी किनारमा निकै बाक्लिएको छ । किन भने महाधिवेशनको उद्घाटन मिति नजिकिदै गर्दा मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ । नदी किनार अहिले रंगीचङ्गी मात्र देखिएको छैन, चिटिक्क देखिन्छ ।
ठूल– ठूला ढुङ्गालाई मिलाउने देखि मैदान सम्याएर मञ्चको आकार दिने काम भइसकेको छ । नदी किनारमा रहेको बालुवालालाई पन्छाएर व्यवस्थित बनाईदैछ भने सरसफाईको कामलाईसमेत तिव्रता दिईएको छ । प्रचार प्रसारको काम पनि अघिल्ला महाधिवेशन भन्दा फरक ढंगले अघि बढाईएको बताउनुहुन्छ प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदी ।
पाँच सय जना अतिथि अट्ने मञ्चले आकार पाइसकेको छ भने एक सय २० फिट लम्वाई र ६० फिट चौडाईको मञ्च बनाउदै गरिएको छ । जहाँ कलाकारले आफ्नो प्रस्तुती एकै पटक दिन सक्नेछन् । यो महाधिवेशनको मञ्च निर्माण र व्यवस्थापन पनि लगभग अन्तिम चरणमा पुगेको समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका सुरक्षा प्रमुखहरु समेतको सहयोगमा आ–आफ्नो जिम्मेवारीमा रहेका नेताहरुले कामलाई तीव्रता दिइहेका छन् । त्यस्तै १०औँ महाधिवेशन लेखिएका व्यानर र एमाले पार्टीको झण्डाले नारायणी थप रमणीय बनेको छ ।
एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने जनाइएको छ । त्यसैले चितवनको मात्र हैन अहिले देशकै ध्यान खिचिरहेको यो नारायाणी नदि किनारमा हुने एमालेको दशौं महाधिवेशन कस्तो हुने हो ? र के सन्देश देला, त्यो भने हेर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्