
काठमाडौं । साउनको १५ कटेको छ । देशभर झरी वर्षात भइरहेको छ । यो समय धान रोपेर सकिने अन्तिम बेला हो । तर अझै पनि देशभरको दश प्रतिशत जमिनमा धान रोप्न सकिएको छैन ।
कृषि विकास मन्त्रालयका अनुसार अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँँ सकिएको छ ।
गत वर्ष साउनको यही अवधिमा भने ७७ प्रतिशत मात्र रोपाइँँ भएको तथ्यांक छ । यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँँ हुने अनुमान मन्त्रालयको छ ।
गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले बढेर करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान मन्त्रालयको छ
नेपालको धान उत्पादनमा तराईको निकै ठूलो योगदान रहन्छ ।
धान उत्पादनमा तराईको ७१ प्रतिशत योगदान रहँदा पहाडी क्षेत्रले भने २९ प्रतिशत योगदान रहने गरेको छ । मुलुकको धेरै जमीन आकाशे पानीमा निर्भर रहँदा ढिलो रोपाई हुने गरेको हो ।
१५ लाख ५२ हजार हेक्टर जमीन धानखेतीका लागि उपयुक्त मानिएको छ ।
तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि भएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाको भनाइ छ ।
पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासले धान उत्पादन बढेको मानिन्छ ।
आफ्नै जमीनबाट करीब ३० लाख मेट्रिक टन चामल उत्पादन भएपनि देशभर चामलको माग भने ३८ लाख मेट्रिक टन रहेको छ ।
अपुग आठ लाख मेट्रिक टन चामल विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । गत वर्षमात्र करिब २६ अर्ब बराबरको चामल आयात भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्