देउवालाई टक्कर दिँदै निधि, प्यानल बनाएरै मैदानमा « Image Khabar


देउवालाई टक्कर दिँदै निधि, प्यानल बनाएरै मैदानमा



काठमाडाैं । पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस उपसभापति विमलेन्द्र निधि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको साथ पूरै छोडेर पार्टी सभापतिका लागि अघि बढ्नुभएको छ ।

देउवाका निकै विश्वासपात्र मानिनुभएका निधिले गत भदौ ११ गते काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैक्वेटमा सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । मंसिर ६ गते सोमबार निधिले आफू सभापतिमा उम्मेदवार बन्नुका २३ कारण खुलाउँदै देउवाको क्याम्प छोडेको स्पष्ट संकेत गर्नुभएको छ ।

मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापति देउवाले सभापतिमा दोहोरिने आकांक्षा राखेका बेला निधिले पनि २३ कारण खुलाउँदै सभापतिमा दाबी गरेपछि कांग्रेसमा तरङ्ग पैदा भएको छ ।

प्यानल बनाएर निधि मैदानमा
आफू सभापतिमा उम्मेदवार बन्नुका कारण खुलाएका निधि अहिले प्यानल निर्माणको गृहकार्यमा लाग्नुभएकाे निधि निकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयाे । उहाँक अनुसार निधिले केहिदिन भित्र आफ्नो घोषणा पत्र पनि सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।

को हुन् निधि ?
नेविसंघका संस्थापक अध्यक्ष एवं कांग्रेस नेता बिपिन कोइरालाका अनुसार निधि कांग्रेस राजनीतिमा दुःख पाउँदै अघि बढेका नेता हुनुहुन्छ । निधिको जन्म २०१३ असोज १० मा धनुषाको जनकपुरमा भएको हो । निधि कांग्रेस संस्थापक नेता महेन्द्र नारायण निधिका सुपुत्र हुनुहुन्छ ।

२०२७ मा नेविसंघको सदस्य भएर विद्यार्थी राजनीतिमा लाग्नुभएका निधि २०२९ मा रारा बहुमुखी क्याम्पसको स्ववियू सचिवमा निर्वाचित हुनुभएकाे थियाे । २०३६ मा २३ वर्षकै उमेरमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

२०४६ मा नेपालमा प्रजातन्त्र पुनःप्राप्तिपछि निधि नेपाली कांग्रेसको पार्टी राजनीतिमा होमिनुभएको हो । त्यसपछि २०५१ र २०५६ मा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएकाे थियाे । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने धनुषा ३ बाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा भने निधि पराजित हुनुभयाे ।

विद्यार्थी र पार्टीको राजनीतिमा लाग्दा निधि पटक–पटक जेलसमेत पर्नुभएको छ । कांग्रेस राजनीतिमा लागेर निधिले पटक–पटक मन्त्री बन्ने अवसर पाउनुभएकाे छ । उहाँ पछिल्लो पटक २०७३ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नुभएको थियो ।

निधि–देउवा सम्बन्ध
देउवा र निधि दुवैजना नेपाल विद्यार्थी संघको (नेविसंघ) राजनीतिबाट उदाएका नेता हुन् । देउवा नेविसंघको स्थापनापछि २०२८ सालमा त्यसको पहिलो निर्वाचित सभापति बन्नु भएको थियो भने निधि २०३६ मा नेविसंघमा देउवापछि दोस्रो निर्वाचित सभापति बन्नुभएको थियो ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएपछि शुरुमा देउवा र निधि फरक-फरक गुटमा लाग्नुभएको थियो । देउवाले कांग्रेसमा कोइराला समूहको फेर समात्दा निधि भने सन्त नेता कृष्णप्रसाद भट्टराईको समूहमा लाग्नुभयो । तर, समय र परिस्थितिले पछि दुवै नेता एउटै समूहमा सहभागी हुन पुगे ।

२०५७ मा कांग्रेसको पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिन रामचन्द्र पौडेलले नमानेपछि भट्टराई पक्षले देउवालाई सभापतिमा उठाउने निर्णय गर्‍यो । त्यसमा देउवा र निधि एउटै समूहमा थिए ।

कांग्रेसमा आन्तरिक कलह चर्केपछि २०५९ मा देउवाले कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा पनि निधिले देउवाकाे साथ छाेड्नुभएन । देउवालाई नेतृत्वमा पुर्‍याउन निधिको सधै महत्वपूर्ण सहयोग रह्यो ।

२०७२ फागुनमा भएको कांग्रेसको १३औं महाधिवेशनमा निधिले दरिलो साथ दिएकै कारण देउवा सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस नेताहरू बताउँछन् ।

देउवाले पनि निधिलाई उप-सभापति बनाउनुभयो भने त्यतिबेला देउवाले निधिसँग १४औं महाधिवेशनमा आफू उम्मेदवार नबन्ने र निधिलाई साथ दिने प्रतिवद्धता जनाएको एक कांग्रेस नेताले बताए । तर, देउवाले भने त्यसको विपरीत निधिलाई धोका दिएको ती नेताको दाबी छ ।

निधि-देउवा सम्बन्धमा दरार
२०७३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका बेला निधिलाई उपप्रधान एवं गृहमन्त्री बनाइएको थियो ।देउवाले अघि सारेकाे व्यक्तिलाई निधिले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन चासाे नदिएपछि विस्तारै दुवैजनाको सम्बन्धमा दरार शुरु भएको हो ।

त्यसैगरी, २०७४ प्रतिनिधिसभा को निर्वाचनमा धनुषा ३ बाट चुनाव लड्दा सभापति देउवा र पत्नी आरजु देउवाले आफूलाई सहयोग नगरेकाेमा निधि असन्तुष्ट भएकाे उहाँनिकट एक नेताले ईमेजखबरलाई बताए । निधिले तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजय व्यहोर्नुपरेको थियो ।

देउवाले निधिलाई दिएको वचन पालना नहुनु दुवैबीचको सम्बन्धमा आएको दरारको अर्काे कारण हाे । १४औं महाधिवेशनमा आफू उम्मेदवार नबनी निधिलाई सघाउने भनेर दिएकाे वचन विपरीत देउवाले पार्टी सभापितमा दोहोरिने आकांक्षा देखाएपछि उनीहरूबीचकाे सम्बन्धमा चिसाेपना आएकाे हाे ।

निधि देउवाले सघाउनेमा ढुक्क भएर बस्दा देउवा स्वयंले फेरि सभापति बन्ने चाहना राखेपछि त्यसले दुवैबीचको दूरीलाई फराकिलो बनाएकाे कांग्रेस नेताहरूको भनाइ छ । देउवाले निधिलाई सधैँ प्रयोगमात्रै गर्न खोजेको निधि निकट नेताहरूको दाबी छ ।

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ निधिको सभापतिमा उम्मेदवारीले देउवालाई असर पर्ने बताउनुहुन्छ । ‘देउवा र निधि लामो समय सँगै हिडेका नेता हुन्, निधिले देउवाको भोट धेरै काट्ने संभावना छ,’ श्रेष्ठले ईमेजखबरसँग भन्नुभयो ।


निधिले सभापतिमा उम्मेदवारी दिनुको कारण यसरी २३ बुँदामा खुलाउनु भएको छ ।

१.आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन ।
२.नेपाली कांग्रेसमा रूपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न ।
३.नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्न ।
४.राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहना अनुसार सफल कार्यान्वयन गर्न ।
५.जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन ।
६.देशको भौगोलिक विविधता अनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्न ।
७.जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न ।
८.भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन ।
९.नेपाली कांग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान, सहिदहरूको स्मृतिसम्मान, समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको विकास तथा प्रवर्द्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्न ।
१०.लोकतान्त्रिक आन्दोलनका सहिदहरू, सहिद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान गर्न र हिंसापीडित पार्टीका साथीहरूलाई न्याय प्रदान गर्न ।
११.नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन ।
१२.पार्टीका सदस्यहरूमा पठनपाठन संस्कृतिको विकास गरी वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्यलाई सम्पूर्ण तहमा पुर्‍याउन ।
१३.संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गराउनका लागि ।
१४.नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिँदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्न ।
१५.नेपाली कांग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न ।
१६.पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउन ।
१७.विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्न ।
१८.सम्पूर्ण तहका साथीहरू र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन तथा विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्न ।
१९.संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक निर्णयलाई कार्यान्वयन गराउनका लागि ।
२०.सोसलिष्ट इन्टरनेशनलसहित नेपाली कांग्रेसले समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न ।
२१.छिमेकी मित्र राष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै राष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास गर्न ।
२२.जनतासँग कांग्रेस र कांग्रेससँग जनतालाई साँचो अर्थमा आबद्ध गर्न ।
२३. मतदातासँग रूख चिन्ह र रूख चिन्हसँग मतदातालाई बलियोसँग जोड्न ।