२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


टिपरले किचेर मारेका दिलीपको आमाको अझै आएन होस : बुबाले भने, “दोषीलाई फाँसीको सजाय देउ” (भिडियोसहित)


0
Shares

-नवीन सिंह/ ईमेज

धनुषा । मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप महतोको अवैध बालुवा गिट्टी उत्खननविरुद्ध आवाज उठाउँदा गतसाता हत्या भयो । समाजका विकृति तथा बेथितिविरुद्ध आवाज उठाएकै कारण मृत्युको मुखमा पर्नुपरेको यो घटनाले परिवार मात्र विक्षिप्त बनेको छैन सिंगो गाउँनै शोकमा डुबेको छ ।

भारतमा इन्जिनियरिङ पढ्दै गरेका दिलीप महतो पहिलेदेखि नै सामाजिक गतिविधिमा सक्रियता देखाउँथे । विदाको बेलामा घरमा आएका दिलीपले गाउँमै अवैध रुपमा बालुवा–गिट्टी उत्खनन गरेको देख्न सकेनन् र स्थानीय युवाहरुलाईसमेत जुटाइ त्यसको विरुद्धमा अभियान चलाइरहेका थिए ।

नदी दोहन गर्न पल्किएकाहरुले महतोको अभियान रुचाएनन् । परिवारलाई पनि निरन्तर चेतावनी आयो तर उनलाई त्यसको परवाह भएन । अन्ततः भष्ट्रहरुको तगारो बन्दै आएका दिलीपलाई कुटपिट गरी टिपरले किचेर हत्या गरियो । यो घटनाले उनको परिवारमाथि अकल्पनीय बज्रपात परेको छ ।

छोराको मृत्यु सहन नसकेर बेहोस बनेकी उनकी आमाको अहिलेसम्म होस आएको छैन । ४ बहिनी र १ भाइसहित ९ सदस्य रहेको उनको परिवारका उनी जेठा छोरा थिए । आर्थिक अवस्था पहिलेदेखि नै दयनीय रहेको परिवारमा पढाइ पूरा गर्न थालेकोे छोराले आशावादी बनाएको थियो ।

बुवा रामजीवन महतो दम रोगबाट ग्रसित छन् भने कान्छा भाइ अध्ययनरत छन् । दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै परिवारको आर्थिक व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने मृतकका बुवा रामजीवनको भनाइ छ । अहिले आफूहरुलाई २० लाख रुपैयाँ ऋण लागेको परिवारले जनाएको छ ।

छोराले कमाउला भनेर ऋण खोजी इन्जिनियर पढाइएको तर सबै सपना हुरीले उडाएजस्तै भएको परिवारको दुखेसो छ । यता प्रहरीले घटनामा संलग्न भएको आरोपमा क्रसर सञ्चालक विपीन महतोसहितका ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यद्यपि प्रहरी अनुसन्धानप्रति भने परिवार विश्वस्त बन्न सकिरहेका छैनन् । प्रदेश सरकारले राहतस्वरुप मृतकको परिवारलाई ५ लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । आक्रोशित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।