चितवनमा एमाले महाधिवेशनको सरगर्मी « Image Khabar


चितवनमा एमाले महाधिवेशनको सरगर्मी



डोलराज रानाभाट

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्दैछ । यही मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि नेताहरुको दौडधुप तीव्र भएको छ ।

यो हो चितवनको नारायगढस्थित नारायणी नदी किनार, यही ठाउँ हो जहाँ नेकपा एमालेले मंसिर १० गते ५ लाख नेता कार्यकर्ता उतार्दैछ । उद्घाटन सत्र यही र बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने टुंगो लगाएको नेकपा एमालेले महाधिवेशनको तयारी तीब्र बनाएको छ । राजधानी बाहिर प्राय ठाउँमा सार्वजनिक जमिन पाउन कठिन हुने र पूर्वाधारको अभावनै चुनौति भएपनि तयारी सुरु भइसकेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवाली बताउनुहुन्छ ।

कार्तिक ५ गते नेकपा एमाले चितवनले पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी सुरु भएको बतायो । कार्तिक १५ गते केपी शर्मा ओली चितवन आएर महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन र कार्तिक १७ गते स्थलगत निरीक्षण गरेपछि तयारीले बढी तीव्रता पाएको हो । स्वयम्सेवक व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ ।

भव्य र सन्देशमूलक महाधिवेशन गराउने योजनासहित तयारी भएको बताउनुहुन्छ केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराई । यो पटक पर्चा पम्प्लेटको नभई डिजिटल माध्यमबाट प्रचारप्रसार गरिनेछ । माधव नेपाल नेतृत्वको पार्टी बाहेक सवैलाई निमन्त्रण पठाइएको र दक्षिण एसियाका सत्तारुढ तथा विपक्षी दललाई समेत आमन्त्रण गरिएको उहाँको भनाइ छ । ६६ जिल्लाबाट प्रतिनिधिहरु छनौट भइसकेको र बन्दसत्र संचालन हुने सौराहामा ३ हजार ५ सय कोठा बुकिङ गरिएको छ ।

बुटवलमा गर्ने भनेर अन्तिम पटक चितवनमा सारिएको एमाले महाधिवेशन सोही पार्टीको निरन्तर प्रकृया भनिए पनि दुईतिहाइबाट उछिट्टिीनु पर्दाको पीडा र प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेप्रति आकर्षण बढेको देखाउन पनि लागिपरेको देखिन्छ । त्यसैले पनि शीर्षस्थ नेताहरुले केही दिन बिराएर चितवन आवतजावत तीव्र बनाइरहेका छन् ।