
काठमाडौं, माघ २ । सरकारले उपकुलपतिविहीन अवस्थामा रहेका ६ ओटा विश्वविद्यालयमा छिट्टै उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिहरु नियुक्तिका लागि प्रतिपक्ष दलको सहमति खोज्दा ढिलाइ भएको र अब छिट्टै नियुक्ति गरिने बताएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार मन्त्री पोखरेलले उपकुलपति ‘सर्च कमिटी’ले नाम टुंगो लगाइसकेकाले केही दिनमै नियुक्त हुने दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्तिमा प्रतिपक्ष दलको सहमति लिनुपर्ने भन्दै रोकेका कारण ढिलाइ भएको मन्त्री पोखरेलको भनाइ थियो ।
पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालय लामो समयदेखि उपकुलपतिविहीन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्