२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नारायणगढ­-मुग्लिन सडक एकतर्फी सन्चालन


0
Shares

चितवन, साउन १९ । चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-­मुग्लिन सडकखन्ड चार घन्टापछि एकतर्फी सन्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सन्चालनमा आएको हो ।

अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।

उनकाअनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्नेक्रम भने जारी नै छ ।

लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिए ।

राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो । सो क्षेत्रमा गाडीको लामो लाइन छ ।

एकतर्फी सडक खुलेपछि बीचमा अड्किएका गाडीलाई भने गन्तव्यमा पठाउन थालिएको छ ।

नारायणगढ-मुग्लिन सडकखन्डअन्तर्गत् विभिन्न स्थानमा पहिरो जानेक्रम जारी छ । पछिल्लो एक हप्तादेखि ढुंगा खस्नेक्रमसमेत बढेको प्रहरीले जनाएको छ । रासस