
काठमाडौं, माघ २ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट गर्न नेकपाका नेता भीम रावललाई आग्रह गरेका छन् ।
रावलले केही दिनअघि आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की आएको भन्दै सञ्चारमाध्यमहरुमा बताएका थिए ।
सोही बारेमा सोधिएको प्रश्नमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र ? भन्दै प्रतिप्रश्न गरे ।
बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दिएको प्रष्ट पार्न उनले नेता रावललाई आग्रह गरे । मन्त्री बाँस्कोटाले भने, ‘फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन पाइन्न ।’
आफ्ना कार्यकर्तालाई सिध्याउन प्रधानमन्त्रीले तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ र ? यस्तो सोच्नु नै गलत हो, सञ्चारमन्त्री बाँस्कोटाको भनाइ थियो ।
सरकारले सुरक्षासमेत उपलब्ध गराएकाले नेता रावलको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने नलागेको मन्त्री बाँस्कोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्