
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।
पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।
मुख्यमन्त्री राईले भने प्रदेशसभाबाट विश्वासको मत पाउन कुनै समस्या नभएको बताएका छन् । ‘विश्वासको मतका लागि संयुक्त रुपमा सल्लाह गर्न र केही सांसदहरूलाई निर्देशन दिन गठबन्धन दलका सबै प्रदेश सांसद एकै ठाउँ भेला भएका छौं,’ उनले भने, ‘सांसदहरूसँग हट कन्ट्याक्टमा बस्न र सानोतिनो समस्यामा फस्दा विश्वासको मत दिन छुट्नसक्ने भएकोले पनि भेला भएका हौं ।’
सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार १२स् ३० बजे प्रदेशसभा बैठक बोलाएका छन् । यसअघि कात्तिक २३ गते बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आवश्यक तयारी नपुगेकोले मुख्यमन्त्री राईको आग्रहमा सभामुख भण्डारीले मंगलबारसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्