कथा मेराे गाउँको : तपाईको पनि हुनसक्छ यस्तै कथा ? « Image Khabar


कथा मेराे गाउँको : तपाईको पनि हुनसक्छ यस्तै कथा ?



संजिव कार्की

दुई तीन दशक अघि गाउँका प्रत्येक घर घरमा आफूलाई पुग्ने लसुन प्याज खुर्सानी सागसब्जी लगायतका भान्साका अत्यावश्यक मसला र तरकारीहरु करेसाबारीमा फल्थे l सिजनल फलफूल पनि बगैँचामा शोभायमान देखिन्थे l धानमकै कोदो गहुँ फापर तोरी तिलले बारी झकिझकाउ र हराभरा रहन्थे l खेताला जाने, मेलापात अर्मपर्मको बेग्लै स्वाद र मजा हुन्थ्यो l मेला, पर्, पूजा,जात्रा, विशेष गरि सत्यनारायणको पूजा र स्वस्थानी पूजाको रौनक उल्लेखनीय र रोमान्चकारी हुन्थ्यो lजुन आज भोलि छैन भए पनि अपवादबाहेक रहन्न हुन्न l प्राय टोलनै भरि हुने पूजा रमाइलो र जाग्राम आजकल गाउँ भरि कतै सुनियो भने आश्चर्य मान्नुपर्ने स्थिति छ l

महाभूकम्प २०७२ पछि गाउँ घरको रुप पनि फेरिएको छ l गाउँमा पनि आरसीसी ढलान घरहरु बन्न थालेका छन् भने पुराना रातोमाटो र कमेरो पोतिएको घर भेट्टाउन मुश्किल छ l भूकम्प प्रतिरोधी घर बनाउन परेको कारण पुराना ढाँचाका घरहरु मासिएर गाउँ आधुनिक घर निर्माणको चरणमा पुगेको छ l पिंढी,दलान, बुइगल र बार्दलीयुक्त घरहरु एकदम थोरै मात्र छन् l

गाउँमा बलिया बाङ्गा, बाहुबली मान्छे र तन्नेरीहरू छैनन् छन् त कमजोर ब्रिद्द बृद्धा र महिला केटाकेटी अशक्त मान्छेहरु मात्रै छन् l गाउँमा मरौ परौ पर्यो भने सव काँधमा राखेर हिंड्ने मान्छेहरुको अभाव छ l मान्छे मर्दा समेत नजिक गएर सहानुभूति, सान्त्वना, सहयोग र समवेदना दिने मान्छेको अभाव छ l बरु मान्छे मरेको समाचार र समवेदना सार्वजनिक भित्तोमा बेस्सरी हेर्न पाइन्छ तर दुखमा बसेका मान्छेको छेउमा बसेर सहानुभूति दिने मान्छेको रिक्तता छ l यान्त्रिक सहानुभूति र समवेदनाको ओइरो लागे पनि असहज अवस्थामा दुखमा मलम पट्टी लाग्ने सहयोगको समवेदना कमै पाइन्छ l

केही सिमित तन्नेरीहरूले मात्रै गाउँको जीवन जेनतेन धानिएको छ l गाउँ जीवित र चलायमान बनाउने थोरै मान्छेमात्र गाउँमा सकस खपेर बसेका छन् l गाउँ चलायमान बन्न कि दशैँ तिहार जस्ता चाडपर्व आउनुपर्छ कि राजनीतिक पार्टीको कार्यकर्म या चुनाव आउनुपर्छ अन्य समय गाउँ शुनसान र रौनकता हराएको बेहुली अन्नमाएको घर र कार्यक्रम सकिएको रङ्गमंच जस्तो हुन्छ l दशैंमा पिंग हाल्ने र रमाइलो गर्ने नाचगान गर्ने चलनमा पनि उत्तिकै शिथिलता आएको देखिन्छ भने तिहारको देउसी भैलो पनि थोरै जाँगर भएकाहरुको कर्म काण्ड जस्तो मात्रै भएको छ l रमाइलो भनेको जाँड रक्सी खानु, झगडा गर्नु र जुवातास खेल्नुमा सिमित बनेको छ l गाउँबाट सिर्जनात्मकता हराएको छ यद्दपि पहिले जति र पहिले जस्तो नभए पनि दशैँ तिहारको रन्को र आत्मीयताभने अरुबेला भन्दा भिन्न र अलि बढी मोहक देखिन्छ / भोगिन्छ गाउँमा l

गाउँमा भौतिक विकास र परिवर्तन भने भित्रिएको छ l बिजुली बत्ती बलेको छ l मोटर बाटो बनेको छ l गाउँ टोल टोलमा मोटर बाटो बनेर गाउँमा मोटरसाइकल चढ्ने मान्छे र भाडामा चल्ने ट्रयाक्टर, बोलेर गाडी, ट्रक पुगेका छन् गाउँले जीवन सहज चै भएको छ lपहिले पहिले यी सब थिएनन् तर पनि मान्छेहरु आफ्नो भविष्य र भाग्य यही हो भनेर गाउँमै बस्थे, आफ्ना पाखुरी बजार्थे दश नंग्रा खियाउँथे श्रम र पसिनाले गाउँ हराभरा र मनोहर बनाउथे l गाउँ मै रंगिन सपना देख्थे र गाउँमा रङ्ग भर्थे गाउँ रमाइलो थियो l मेलापात दाउरा घाँस जाँदा रनबन घन्काउँथे गाउँ रमाइलो थियो तर आजकल त्यो गाउँले रौनकता कता छुट्यो कता हरायो बिलायो ?

सूचना र संचारमा भने सहर जस्तै गाउँले पनि ठूलो फड्को मारेको छ l मोबाइल नभएको घर छैन l धेरै घरमा परिवारका वयस्क सबैको हातमा मोबाइल छ l कति घरमा त ८ कक्षा पढ्नेहरुको हातमा पनि सेल फोन छ l इमेल, इन्टरनेट, फेस बुक टुइटर इन्ष्ट्रागाम लगायत अनेकन सामाजिक संजालको कारण गाउँका मान्छे पनि आफ्नो घर आँगनबाट संसार विचरण गर्न सक्ने भएका छन् l सूचना र संचारमा भने अपूर्व क्रान्तिकारी छलांग नै मारेको छ मेरो गाउँले पनि l

अहिले गाउँमा स्कुलहरु जताततै छन् l आवश्यक अनावश्यक धेरै ठाउँमा स्कुल खोलिएका छन् l स्कुल खोल्नु आफैमा नराम्रो होइन तर गुणस्तरीय शिक्षा दिन नसक्ने स्कुल खोलेर विधार्थीको भविष्य बर्बाद गर्नु चै पाप र अधर्म नै हो l आवश्यकता र औचित्य पुष्टि नहुने ठाउँमा स्कुल खोल्न अनुमति दिने र खोलिएको स्कुलबारे अनुगमन नगर्ने निकाय पक्कै पनि शैशिक अवन्नतिका कारक अपराधी हुन् l त्यस्ता अपराधकर्म देशभर भएको गुनासो र उजुरी राज्यका निकायहरुमा परेका होलान् l विद्यार्थी संख्या  नभएका स्कुल भवनहरुको हेर्दा राज्यको निकम्मापन र अदुरदर्शिता मज्जाले देखिन्छ l सरकारीस्तरबाट संचालित विद्यालयमा विधार्थी छैनन् तर शिक्षक शिक्षिका थुप्रै छन् l गाउँका शिक्षिकाहरु स्कुल कर्म कम राजनीतिक कर्म बढी गर्छन् l शिक्षकहरु राजनीतिक पार्टीका भरिया हुन् कि शिक्षक मात्रै हुन् छुट्याउन मुश्किल छैन उनीहरु शिक्षक थोरै र राजनीतिक पार्टीका नेताकार्यकर्ता धेरै छन् l राजनीतिक पार्टीको जीवन भर्ने प्राण दाता हुन् l उनीहरु आफ्नो पाठ्यपुस्तक बारे कम र राजनीतिक पार्टीका कार्यक्रम बारे बढी चासो सरोकार र जानकार हुन्छन् l राजनीतिक पार्टीको घोषणापत्र मुखाग्र पार्ने सर र म्यामहरु आफूले पढाउने विषय र व्यवस्था बारे बेखबर छन् l

सरकारी स्कुलमा पढाउनेका छोराछोरीहरु सरकारी स्कुलमा पढ्दैनन् / पढाइदैनन् l सरकारी स्कुलमा पढेका विद्यार्थी अव्वल र योग्य हुन्छन् भन्ने विश्वास छैन l अन्यत्र निजी स्कुलमा पढेकासँग प्रतिस्पर्धा गर्न सक्तैनन् भन्ने धारणा र वास्तवकिता पनि छ l सरकारी स्कुलको गुणस्तर खस्कनुमा सोही स्कुलमा पढाउने शिक्षकहरुको पनि हात छ जसले आफूले पढाउने स्कुलमा आफ्ना छोराछोरीहरु र आफन्तलाई पढाउदैंनन् अनि सरकार जसले दुई थरि शिक्षा पाउने नागरिक उत्पादन गर्न प्राथमिकता दिन्छ l आफ्नो खुवी र क्षमतामा विश्वास नगर्ने शिक्षक किन पाल्ने ? उनीहरुको योग्यता परिक्षण हुनु पर्छ कि पर्दैन ? हाम्रो देशमा सरकारी स्कुलमा शिक्षक जागिर खान पठाइन्छ शैक्षिक गुणस्तर बढाउन होइन l शिक्षक हुन् पार्टीको बफादार कार्यकर्ता भए पुग्छ l पार्टीप्रति लगाव भएको र पार्टीको राजनीतिमा लागेको मान्छे शिक्षक हुन् सजिलो छ l पार्टीमा लागेको र पार्टी प्रतिको आशक्ति नै शिक्षक हुने पहिलो शर्त र मुख्य योग्यता रहन्छ l स्कुलमा शिक्षक पढाउन भन्दा सम्बन्धित पार्टीको राजनीतिक गतिबिधि गर्न नियुक्त गरिन्छ l त्यो हिजो पनि गरिन्थ्यो आज पनि सो क्रमले भंग हुने विशुद्द योग्यता र क्षमताले जागिर पाउने अवस्था खडा भएको छैन l अयोग्य कुनै शिक्षक शिक्षिका हटाउने बुता सम्बन्धित तालुकदार निकायको हुन्न l

नियुक्ति दिनु भनेको सदैब जागिर खुवाउनु हो भन्ने मान्यता छ l दण्ड सजाय गर्ने अवस्था छैन जसको कारण आज देशभर शिक्षा डामाडोल भएको छ l कुनैपनि शिक्षक शिक्षिका हटाउन कसैले पनि सक्तैन किनभने शिक्षक सङ्घ,संगठनले कसैलाई पनि कारबाही नगर्ने नगराउने तागत राख्छन् l शिक्षक सङ्घ संगठनको दादागिरी अघिल्तिर सरकार निरिह छ जसको नतिजा सरकारी शिक्षा नाजुक र गए गुज्रेको स्थितिमा छ l गाउँमा प्लसटु सम्मको शिक्षा सहज छ जसले वैधानिक तवरले शिक्षाको डिग्री बाँडेको छ तर गुणस्तर शुन्य छ l सर्टिफिकेट यति पढेको छु भन्न र कतै जागिर खुले आवेदन दिन काम लाग्छ तर जीवन यापन गर्न सिप र दक्षता छैन l क्षमता अभिवृददी गर्ने र रोजगार दिने र कामको महत्व नहुने शिक्षाको के काम ? आज नेपालका अधिकांश गाउँ र शिक्षाको स्तर यही हो l कामलाई हेला होचो गर्ने, श्रमको मूल्य थाहा नपाउने, श्रम गर्न लजाउने  शिक्षाको के काम ? गलत शिक्षा दिन र गुणस्तरहीन शिक्षा दिन खोलिने शिक्षालय के काम ? अधकल्चो र बेरोजगारी बढाउने मात्रै शिक्षा नामको सर्टिफिकेट बाँड्ने स्कुल खोल्नु उचित होइन बरु भएकामा गुणस्तरीय शिक्षा दिने वातावरण सिर्जना गरि व्यवसायिक र स्वार्जनमूखी शिक्षामा जोड दिनु आजको आवश्कता हो l

गाउँमा मोटरबाटो पुग्नु राम्रो हो तर मोटरबाटो जानुपर्ने ठाउँमा नपुगेर कतिपय नजानु पर्ने ठाउँमा पनि पुगेको छ l प्राविधिक ज्ञान र भौगोलिक बनावटको अध्ययन अनुसन्धान र विश्लेषण बिना निर्ममतापूर्वक डोजर चलाएर बाटो खनिएको छ l गाउँमा राजनीति गर्ने मान्छे र तिनको लहडमा वैज्ञानिक पद्दति र मापदण्ड मिच्दै जथाभावी बाटो बनाउदा मृत्युको धराप थापिएको छ भने बाढी पहिरो र भूक्षयको समस्या पनि बढ्दो छ l जेहोस् गाउँमा मोटर पुग्यो तर मोटर पुगे पछि त्यसबाट फाइदा लिने र त्यसको वर्ष भरि नै उपभोग गर्ने मान्छेको कमि छ l पढेलेखेका सिमित मान्छे पढाई र अन्य कामको शिलशिलामा संसारका कुना कुनामा पुगेका छन् भने साधारण पढेलेखेका मान्छे अवसर खोज्दै सहरी बस्तीमा त्यहाँ नभए सदरमुकाम तिर र काठमाडौँ छिरेका छन् l

गाउँको बस्ती रित्तो छ मोटर पुगेर पनि उचित लाभ लिने जनशक्ति गाउँमा छैन l खेतीयोग्य भुमि निष्काम र बाँझा भएर झाडीमा परिणत भएको छ l व्यवसायिक खेती परको कुरा भयो परम्परगत खेती गर्ने मान्छेको अभावमा गाउँ उजाड छ l मोटरबाटो पुगेका केही ठाउँका खेतीयोग्य जमिन प्लाटिंग गरेर घडेरीमा बिक्री हुदै गरेको पाइन्छ l कृषि अपहेलित र अमर्यादित बनेको छ l हलोधुलोसँग गाउँका मान्छेको वितृष्णा छ l आलु, साग र लसुन उब्जाएर खान भन्दा किनेर खान सस्तो पर्ने र किन्दा गर्व गर्ने संस्कृति बन्यो l कृषि कर्म गर्ने माज्दूर, ज्यालादारी खेताला अर्मपर्म गर्ने मान्छे नपाउने कारण कृषि महँगो भयो l कृषिबाट प्रतिफल नगन्य मिल्ने तर लागत बढी र जोखिम युक्त भयो l लगाएबालीनाली पनि बन्यजन्तु र बाँदरले खाएर हैरान बनाएको आम मान्छेको गुनासो छ l कृषि कर्म नै गर्छु भन्नेको लागि अपेक्षित लाभ लिने वातावरण र सरकार सहजकर्ता बन्न सकेको छैन l ठूलो उत्साह लिएर कृषिमा लाग्ने पनि अनपेक्षित हानी र क्षयले पेशाबाट पलायन बनेको देखिन्छ l

गाउँका हरेक घरमा गाई या भैसी दुहुना हुन्थे, खेतीपाती नगर्ने भए पछि मान्छेले गाई भैसी गोरु पाल्न पनि छोडे l दूध, दही, मही, घ्यू घर घरमा हुन् छोडे बरु दूधको साटो हर्लिक्स र पाउडर दूधले स्थान लियो मोइको सट्टा कोक फेन्टा र जुसका पाउडर गाउँ पुगेर रजाई गर्न थाल्या छ l सर्वत् खाने दही खाने चलनलाई चिसो पेय पदार्थका अनेक उत्पादनले विस्थापित गरेका देखिन्छन् l आफ्नो घरको घ्यू भन्दा शर्मा पाइने रामदेवको घ्यूमा गाउँका बा आमाले रेडियो सुनेर टेलिभिजन हेरेर लोभिन र मगाउन थालेका छन् l सहर हुँदै रामदेवको उत्पादन गाउँ छिरिसक्यो गाउँको अर्ग्यानिक र मौलिक वस्तु र खाद्यन खाजा पनि विस्थापनको चपेटामा परेर चनाचटपटे, पानी पूरी र लेज कुरकुरे स्कुले नानीहरु र बुढाबुढी बा आमाको स्वादको परिकार बन्दैछ l मौलिक र स्वास्थ्यवर्द्दक खानपान पाखे र असभ्य बन्दै छ भने स्वास्थ्यको लागि हानिकारक केमिकल प्रयोग गरिएका अखाद्य तत्व मिश्रित वस्तु प्रिय खान्की बन्दै गएको छ l अबको ५ बर्ष भित्र धर्मवस्त्रधारी, धुर्त व्यापारी रामदेवको योग पिठ्ले हाम्रो बजारमा एकछत्र राज गर्नेछ । बजार अतिक्रमण युद्दस्तरमा शुरु भएको छ । प्रचारिकरणले बजार मैलो भएको तथ्य जगजाहेर छ l

हाम्रा घरेलु ,कुटिर, साना,मध्यम तथा मझौला अनि केही ठुला उद्योगधन्दा धराशायी हुनेछन हाम्रो हैसियत देखिनेछ । परनिर्भरताको दुष्चक्रमा फस्ने हाम्रो नियतिले छलाङ् मार्नेछ । पतन्जलीको उत्पादनले हामी निरोगी हुन्छौ हुन्नौ ? थाहा छैन ? तर हाम्रो अर्थतन्त्र निशन्देह रोगाउने छ,मक्काउने छ l राष्ट्रिय हैसियत खस्काउने या उकास्ने ? सम्बन्धित निकायले समयमा बुद्दी खियाउने हो कि ? अरु चिज र बस्तुको कुरा नगरौ हाम्रो गाई भैंसीको शुद्ध दुध,दही,मही,घ्यु ,पनिर,वटर र छुर्पी समेतले घरेलु बजारमा प्रतिस्पर्धा गर्न सक्नेछैनन् । रामदेव उत्पादनको कात्रो बिना मृतकले आफ्नो अन्त्येष्टि गर्न मन्जुरी न दिने सम्भावना प्रचुर भएको तथ्य नकार्न सकिन्न । आत्मनिर्भर र आत्मनिर्णयको अधिकार अरुको हातमा अझ कसरी जान्छ भन्ने उदाहरण हेर्न धेरै पर्खनु पर्दैन । हामी अल्छ छौं उद्दमी हुन सकेनौ कृषि हेय बन्यो तव कृषिजन्य वस्तुमा हाम्रो परनिर्भरता दिन दुगुणा रात चौगुनाको रेसियोमा वृद्धि भैरहेको छ । हामी,गफमा स्वाभिमानी र स्वावलम्बी तर व्यबहारमा निर्मम तवरले परनिर्भरताको चंगुलमा फसेका छौं ।  आज हामी हाम्रो मौलिक उत्पादन गुन्द्रुक समेतमा परनिर्भर छौं भने जनै समेत चाइनाले उत्पादन गराएर पठाएको स्थिति छ । लवाई खवाई शैली र जीवन पद्दति समेत अतिक्रमण र पर निर्भरताको जन्जिरमा फँसेको छ l फलाएर खानुमा गर्व गर्न छोडेर किनेर खाँदा गर्व गर्ने हाम्रो प्रवृतिलाई मलजल गर्ने सरकारी नीति बनेको छ l

यद्दपि गाउँको गुमेको साख र रौनक फिर्ता ल्याउन अझै सकिन्छ l गाउँ हराभरा र भरिलो रसिलो बनाउने, जागरुक गतिशील र शक्तिशाली बनाउने सपना र उपाय जीवित नै छन् l आत्मनिर्भर अर्थतन्त्र र आत्मनिर्भर स्वाभिमान निर्माण गर्न स्थानीय सरकार देखि प्रदेश हुँदै केन्द्र सरकारले बिदेशिएका ८० लाख कर्मशील हात पाखुरालाई देसमा तान्ने र उता बिचेको श्रम र सिपले यही धनी बन्ने युवा लक्षित नीति र देश फर्काएर यहीँ राख्ने कार्यकर्म तय गर्नुपर्छ l हाम्रो अर्थतन्त्रको मेरुदण्ड कृषिलाई सम्मानको पेशा र आत्मनिर्भर अर्थतन्त्रको जग बनाउने उदेश्य सहित ग्राह्यता दिने बैंकिंग लोन र झन्झट बिहिन सरकारी प्रक्रियालाई पहिलो शर्त बनाउनु पर्छ l

कृषिलाई व्ययासयिक, आधुनिक यान्त्रीकरण बजारीकरण, विविधीकरण र औधोगीकरण गरि सर्व सुलभ बिउ, बिजन, प्रबिधि र व्यवसायिक लोन सिंचाईसफ्ट लोन र कृषकका उत्पादन स्थानीय स्तरमा भाउ तोकेर नै किनिदिने सरकारी संयन्त्र निर्माण गरेर आकर्षन गर्ने हो भने कृषि आफैमा गतिशील बन्ने पेशा हो l कृषि हीनताबोधी पेशा नभएर सम्मानको पेशा र मनग्य आय आर्जन गने व्यवसायको रुपमा विकास गरिनुपर्छ l मान्छेको प्राण बचाउने संसारको उत्कृष्ट पेशा कृषि भनेर गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्छ l कृषिमा आकर्षण गर्ने पहिलो र अन्तिम शर्त हो कृषकका उत्पादन उचित मुल्यमा सरकारले खरिद गर्ने  l कृषिका अलावा हाम्रो देशको जल, जमिन, जडीबुटी, जंगल र पर्यटन हिमाली पर्यटन र धार्मिक पर्यटन, प्राकृतिक सम्पदा सबै विदेशी मुद्रा आर्जन गर्ने आधार र सम्भावना प्रचुर भएका क्षेत्र हुन् l यसर्थ यिनको विकास र सम्भाबनालाई मध्ये नजर गरि अल्पकालीन मध्यकालीन र दीर्घकालीन लक्ष्य र उदेश्य निर्धारण गरि देश बिकासको नवीन खाका कोर्नुपर्छ l गाउँ उज्यालो हुन्छ गाउँ उज्यालो हुनु भनेको देश उज्यालो हुनु हो l गाउँको विकास र परिवर्तन कुनै अलौकिक कुरा हैंन जुन हाम्रै खेतबारी र प्रयासबाट सम्भव छ मात्रै सरकारले होस्टेमा हैंसे थपिदिए पुग्छ l