चितवन । चितवन, तनहुँ र नवलपरासीको संगम तीर्थस्थल देवघाटधाममा मकर संक्रान्ति मेला भर्नेको घुइँचो लागेको छ । मेला भर्न देशका विभिन्न भागसहित भारतबाटसमेत हजारौं तीर्थालु देवघाट पुगेका छन् ।
त्रिशुली र कालीगण्डकी नदीको संगममा माघे संक्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरु देवघाट आउने गरेका छन् । मेला व्यवस्थित गर्न देवघाटका चार ठाँउमा सचिवालय स्थापना गरिएको छ ।
देवघाटधाममा जानका लागि पुलमा दोहोरो लाइन राखेर आवातजावात गर्ने व्यवस्था छ भने त्रिशुली नदीबाट आवातजावात गर्न सहजताका लागि डुंगाको व्यवस्था गरिएको छ ।
यस्तै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क डुंगाबाट आवातजावात गराउने व्यवस्था गराइएको छ । तनहुँ र चितवन तर्फ सुरक्षाका लागि करिब पाँच सय सुरक्षाकर्मीको खटाइएको छ ।
माघे सक्रान्तिकै अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु (रिडी) क्षेत्रमै रहेको ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुको लाम लागेको छ ।
यता, सिन्धुलीको कमला र गौमती नदीकोे संगमस्थलमा अवस्थित ऐतिहासिक तथा पवित्र प्रशिद्ध धार्मिक तीर्थस्थल कमलामाईस्थानमा मकर संक्रान्तिका मेला शुरु भएको छ ।
उता, कपिलवस्तुमा पनि धुमधामका साथ मकर संक्रान्ति पर्व मनाईदैछ । जिल्लाको सदरमुकाममा रहेको प्राचिन तौलेश्वर नाथ शिवजी मन्दिरमा खिचडी चढाउन शद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
यता, झापाको कनकाईमाई नदीमा आज विहानैदेखी मकर स्नान गर्ने तीर्थयात्री तथा भक्तजनको भिड लागेको छ । कनकाईमाई नदी किनारमा तीन दिनसम्म लाग्ने मेला भर्न र मकर स्नानका लागि माघ १ गते ठुलो संख्यामा भक्तजनहरु कनकाई माइमा आउने गरेका छन् ।

माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेकाले यो स्थानमा मकर नुहाउन नेपालका विभिन्न जिल्ल सहित छिमेकी देश भारत, भुटान र बंगलादेशबाट समेत हज्जारौको संख्यामा भक्तजनहरु आउने गर्दछन् ।
मकर स्नानका लागि आउने भक्तजनको सुविधालाई ध्यानमा राखेर जाडोमा आगो ताप्ने व्यवस्थासमेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्