काठमाडौं । विभिन्न आरोह–अवरोध झेल्दै ईमेज च्यानल आज २४ औं वर्षमा प्रवेश गरेको छ ।
नेपाली टेलिभिजनको भिडमा छुट्टै पहिचान बनाउन सफल ईमेज च्यानलले २३ वर्षअघि नेपाल टेलिभिजनको प्रभातकालीन समयमा सूचना र मनोरञ्जन कार्यक्रम प्रसारणबाट आफ्नो पाइला अगाडि सारेको हो ।
तत्कालिन समयमा ‘गीत बजाएर नेपालमा टेलिभिजन चल्दैन’ भन्ने मान्यतालाई चिर्दै नयाँ प्रयोग थालेको ईमेज च्यानलको सिको गर्दै अहिले प्रायः सबै टेलिभिजनहरु हामीले देखाएको बाटो पछ्याएर गीत, संगीत र सूचना पस्किरहेका छन् ।
आम–नेपालीबीच सुपरिचित ईमेज च्यानलको पहुँच विश्वभर फैलिसकेको ईमेज ग्रुप अफ कम्पनीजको दावी छ । जुनसुकै देशमा बस्ने नेपाली या विदेशीले हामीलाई विभिन्न माध्यमबाट हेर्न सकिन्छ । हरेक टेलिभिजन सेट, कम्युटर र मोबाइलमा तपाईले २४ घण्टा ईमेज च्यानल हेर्न सकिन्छ ।
हाम्रो लोगो, हाम्रो शान
दर्शकहरुबीच लोकप्रिय हाम्रो लोगो हाम्रो शान हो, पुँजी हो । हाम्रो लोगोले दर्शकको हृदय जित्न सफल हुनुको मुख्य कारण हामी न कुनै राजनीतिक पक्षमा छौ न विपक्षमा ।
न गलत धन्दा गर्नेहरुको भण्डाफोर गर्नबाट चुकेका छौं, बरु त्यस्ता धन्दा गर्नेहरुको धाकधम्कीबाट हामी कहिल्यै विचलित भएनौ । हाम्रो यात्रा अविचलित छ, तपाई दर्शकको न्यानो माया र साथले हामीलाई झनै साहसिलो बनाएको छ । ईमेज च्यानल फैलिने क्रम पनि जारी छ । टेलिभिजन, रेडियो अनि अनलाइन(इमेजखबर डटकम)माध्यमबाट हामी तपाईलाई ताजा सुचना, समाचार र मनोरञ्जन पस्किरहरेका छौ ।
आम नेपालीको भाव, भावना र राष्ट्रियता हाम्रो मूल प्रसारण मन्त्र होे जुन हामी संधै आत्मसात गर्दै अगाडि लम्किरहेका छौं । आकाशे च्यानलमा पहुँच राख्नेहरु निकै थोरै हुँदा यात्रा तय गरेको ईमेज च्यानल लाखौं नेपाली गीत संगीत प्रेमिका लागि महत्वपूर्ण माध्यममात्र बनेन सही र निष्पक्ष समाचारमा पनि अब्बल बन्दै गएकोमा तपाई दर्शकबाट हामीले स्यावास्सी पाएका छौ ।
सुरुका दिनमा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेका आफ्ना कार्यक्रम यथावत् राख्दै हामीले काठमाडौ उपत्यकाका दर्शकका लागि पहिलो मेट्रो च्यानल प्रसारण ग¥यौं । यो इमेज ग्रुप अफ कम्पनीज्ले पाएको सफलता तथा दर्शकको साथको अर्को परिणाम थियो ।
यो प्रसारण चुनौतीपूर्ण भएर पनि हाम्रो प्रतिबद्धताले सबै चुनौतीलाई सावित गर्न सफल भएको छ । ईमेज च्यानल वर्तमानमा मात्र अलमलिदैन । यसले भावी योजना पनि बनाएको छ । भावी योजनाबारे इमेज ग्र्ुप अफ कम्पनीजका अध्यक्ष आर के मानन्धरले योजनाहरु सार्वजनिक गरिने बताए ।
इमेज च्यानल अहिलेसम्म सधै लोकतन्त्रको पक्षमा प्रवक्ताकै रुपमा उभिएको छ । तत्कालीन संविधानको व्याख्या एवं अपव्याख्यासँगै दलहरु सडकमा पुग्दा होस् या माओवादीले हतियार उठाउंदा, जननिर्वाचित संसदमा रहेका दलहरुले चुनाव गर्न नसकेपछि संसद्को अधिकार राजदरबार पुग्दा होस्– ईमेज च्यानल लोकतन्त्रको प्रवक्ताकै रुपमा रह्यो । त्यतिबेला नेपालका आम सञ्चारगृह निगरानीमा परे । तर हामीले विवेक गुमाएनौ, जनताको भाषा बोल्यौं र प्रजातन्त्र तथा स्वतन्त्रताको पक्षमा खरो उत्रियौ । अब पनि चुक्ने या झुक्ने छैनौ ।
आमसञ्चार राज्यको चौथो अंग हो र यसले मुलुकको सही सूचना संप्रेषण गर्नुपर्छ भन्ने मान्यता ईमेज च्यानलले कहिल्यै भुलेन । त्यसैले आमदर्शक तथा शुभेच्छुक माझ हामीले कहिल्यै गलत सूचना बजाएर माफी माग्नुपरेन । यो नेपालका प्रसारण गृहका सन्दर्भमा हाम्रा लागि गौरवको पाटो हो ।
हाम्रा दर्शकले अहिले दैनिक २४ सै घण्टा हामीलाई हेरिरहनु भएको छ । हाम्रो सहयात्री ईमेज एफएम र इमेज न्यूज एफएम पनि प्रसारणमा छ । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको अनलाइन इमेज खबर डट कम अहिले आम नेपाली नागरिकका लागि मात्र नभई विश्वभर लोकप्रिय बन्दै गएको छ । यो नेपालको आमसञ्चार क्षेत्रमा हाम्रो अर्को सफलता हो ।
सूचना र प्रविधिले सम्पूर्ण विश्व तथा व्रम्हाण्डलाई एउटा गाउँ बनाइसकेको अवस्थामा ईमेज च्यानलले नेपाल र नेपालीको पहिचान जोगाउन तथा सूचनाको अधिकार स्थापित गर्नैका लागि बेग्लै समाचार च्यानल प्रसारण गर्ने अठोट गर्दै आएको छ ।
परिवर्तित सन्दर्भमा प्रतिवद्ध जनशक्ति र व्यवस्थापन अहिले पनि यही अठोटमा छ । विश्वमा आएका नयाँ प्रविधिलाई अबलम्बन गर्दै अघि बढ्ने प्रयासमा हामी छौं । चाँडै नयाँ प्रविधिमार्फत् हामी जनताको भाषा बोल्ने प्रयासमा छौं । नागरिकको सूचनाको अधिकार सुुनिश्चित् गराउन प्रतिबद्ध छौं र हामीलाई राष्ट्र, राष्ट्रियता, अखण्डता, स्वतन्त्रता र पहिचान प्यारो छ ।









प्रतिक्रिया दिनुहोस्