कानुन व्यवसायीका भाषा रत्यौलीमा प्रयोग गर्नेभन्दा तल्लो स्तरका « Image Khabar


कानुन व्यवसायीका भाषा रत्यौलीमा प्रयोग गर्नेभन्दा तल्लो स्तरका



मिरा बस्नेत
काठमाडौं । देशको यही न्यायालय हो, जसले मुलुकको कार्यकारी अधिकारप्राप्त धेरैलाई अदालतको मानमर्दन गरेको अभियोगमा दण्डित गराएको इतिहास छ ।

तर, यही न्यायालय अहिले यति कमजोर र लाचार बनेको छ कि न्यायकर्मीहरूबाटै न्यायालय बचाउनुपर्ने अवस्था छ । बार एसोसियशनले गरेको आन्दोलनमा बुद्धिजीवी मानिने वकिलका भाषा रत्यौलीमा प्रयोग हुने भन्दा कम छैन ।

वकिलहरूको व्यावसायिक संस्था नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको पछिल्ला अभिव्यक्तिहरू सुन्नै नसिकिने किसिमका छन् । सम्माननीय भन्नुपर्ने प्रधानन्यायाधीशलाई आजकल उहाँ ‘तँ’ भनेर सम्बोधन गर्नुहुन्छ ।

उहाँका दैनिकजसो आउने अभिव्यक्तिमा प्रधानन्यायाधीशप्रति सामान्य आदरार्थी शब्दको प्रयोग त हुँदैन नै, विचौलियाको नाइकेको समेत आरोपसमेत लगाउनुभएको छ । एसोसियशनका अध्यक्षको बोली नै यस्तो भएपछि यसका सदस्य बारकै हाताभित्र कुटाकुटमा उत्रिनु असामान्य हुँदै होइन ।

बार नेतृत्व प्रधानन्यायाधीशमाथि अरिंगाले शैलीमा खनिएको छ । प्रधानन्यायाधीशलाई घुस्याहा आरोपित गर्ने उसले आफूभित्रका कमजोरी बिर्सिएको छ । बेन्चका सदस्यलाई घुस्याहा बनाउन बिचौलियाको भूमिकामा बारका सदस्यको हात रहने गरेको समाजमा नलुकेको सत्य हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा जन्मजात न्यायाधीश थिएनन् । उनी व्यावसायिक वकिल हुँदै बारकै सिफारिसमा न्यायाधीश हुँदै सर्वोच्चको नेतृत्वमा पुगेका हुन् । वकिल हुँदा उनको पृष्ठभूमि दूधले नुहाएजस्तै थियो त ? त्यसतर्फ वकिल नेतृत्व आँखा चिम्लेर बसेको छ ।

प्रधानन्यायाधीशमाथि गरिएको प्रहार व्यक्ति नभएर संस्थामाथिको आक्रमण हो । न्यायालयमा राजनीतिक हस्तक्षेपको विरोध गर्ने उनीहरू स्वयं राजनीतिक दलले दिएको टिकटबाट त्यो नेतृत्वमा पुगेका हुन् । त्यतिमात्र होइन, जिल्ला, उच्चदेखि सर्वोच्चका न्यायाधीश छनोटमा उनीहरूको निर्णायक भूमिका रहने सत्य सबै सामु छर्लङग छ ।

प्रधानन्यायाधीशबाट सपथ लिएका न्यायाधीश, राजनीतिक पार्टीले निर्देशन दिँदा ‘चुँ’ नबोल्ने बार पदाधिकारी आज प्रधानन्यायाधीश विरुद्ध मनपरी बोल्दैछन् । उनीहरूमा साहस कहाँबाट जुट्छ ?

हिजो सर्वोच्चका कमाण्डर विश्वनाथ उपाध्याय, दामोदर शर्मा, खिलराज रेग्मी, गोपाल पराजुली, सुशीला कार्की विरुद्ध सडक, सदन र राजनीतिक दलका कार्यालयमा चलखेल र षडयन्त्र हुँदा त्यही बार किन प्रतिरक्षामा उत्रिएन ?

राजनीतिक दलका कार्यकर्ता न्यायाधीश बनाउने पद्दती रुपान्तरण गर्ने एजेण्डा किन उसको प्राथमिकताभित्र पर्दैन ? अहिले चोलेन्द्रशमशेरलाई घुस्याहा, दलाल र विचौलिया भन्ने वकिलले भोलि आउने सर्वोच्चको नेतृत्वलाई पूजा गर्ने ग्यारेन्टी के ?

यो सभ्यताको युग भएकाले आफ्नो विचार राख्दा शैली र शब्द चयनलाई ध्यान जरुरी छ ताकि त्यही शब्दले भोलि आफूलाई नलखेटोस् ।