काठमाडौं, साउन १९ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यसनिम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, एसियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग सुधारका निम्ति प्राप्त हुने १८० मिलियन सहुलियतपूर्ण ऋणका लागि पनि वार्ताटोली गठन गरेको सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
उखु किसानलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय बैठकले गरेको छ ।
केन्द्रीय कानुन पुस्तकालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने, स्थानीय निर्वाचनकाक्रममा बाजुरामा ज्यान गुमाएका हंस रावतकी श्रीमतीलाई सहयोगस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गर्नुका साथै बैठकले दुईजना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई सरुवा गरेको छ ।
अर्को व्यवस्था नभएसम्म केन्द्रीय बालकल्याण समिति र जिल्ला बालकल्याण समितिलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले नेपालगन्ज, चितवन, पर्सा र रुपन्देहीमा बाल सुधारगृह सन्चालनको अनुमति दिइएको बताए ।
त्यसैगरी, मन्त्रिपरिषदको बैठकले समाजकल्याण परिषदको अनियमितता छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ ।
बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोष, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको विद्यमान संगठन संरचनालाई सुधारसहित निरन्तरता दिने र वन पैदावार विकास समिति र टिम्बर कर्पोेरेसनलाई एकअर्कामा गाभ्ने निर्णय गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्