१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


धादिङमा बस दुर्घटना, ३५ जना घाइते, दुईको अवस्था गम्भीर


0
Shares

काठमाडौं, कात्तिक २४ । धादिङको कालुपाण्डे मार्ग अन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धादिङबेंसीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नंको बस र काठमाडौँबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना ७ ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बतानउनुभयो ।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ ।