
प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज)
काठमाडौं, पुस २८ । निजी अस्पतालहरुले उपचारको नाममा महँगो शुल्क लिने गरेको गुनासो बारम्बार आउने गरेको छ ।
पछिल्लो समय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै उपचारको नााममा ‘कमिसन’को खेल मैलाइरहेको बताएपछि त स्वास्थ्य क्षेत्र तरंगित बनेको छ ।
यही पुस २२ गते कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा बोल्नेक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उपचारमा कमिसनको खेल हुने गरेको टिप्पणी गरे ।
मन्त्री ढकालले स्वास्थ्य संस्थाहरुमा उपचारको नाममा हुने कमिसन खेलका कारण बिरामीको विश्वाससमेत गुम्दै गएको पनि बताएका थिए ।
मन्त्रीको उक्त अभिव्यक्तिले स्वास्थ्य क्षेत्रका धेरै व्यक्तिहरुलाई झस्काएको छ । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि संलग्न चिकित्सकहरु पनि मन्त्री ढकालको अभिव्यक्तिलाई अस्वीकार गर्दैनन् ।
कान्ति बाल अस्पतालका निर्देशक आरपी बिच्छाले विगत १० वर्षदेखि यो समस्या बढ्दै गएको बताए ।
सरकारी अस्पतालमा शय्या र ‘आइसीयु’कक्षको अभाव समस्या सामान्यजस्तै हो । जसमा कमिसनको खेल भइरहेको हुनसक्ने डा. बिच्छाले बताए ।
त्यसमाथि निजी अस्पतालहरुमा मौलाएको अस्वस्थ प्रतिस्पर्धाले पनि कमिसनको खेल हुने गरेको उनको भनाइ छ ।
एम्बुलेन्सहरुले कमिसनका लागि गर्ने बदमासी र औषधिमा हुने लुट त खुलेआम नै छ ।
उपचारका लागि दूरदराजबाट आउने बिरामीलाई महँगो शुल्क लिने, फरक अस्पतालमा ‘रिफर’ गर्ने, गर्नै नपर्ने ‘टेस्ट’हरु गर्न लगाउने र महँगो औषधि भिडाउने समस्या आमरुपमा बिरामीहरुले भोग्दै आएकोमा शंका छैन ।
डा. बिच्छाले यस्ता विषय चिकित्सकको नैतिकतासँग जोडिने भन्दै चिकित्सक आफैंले महसुस गर्नुपर्ने बताउँछन् ।
स्वास्थ्यमन्त्रीले नै उपचारमासमेत कमिसनको खेल भइरहेको दाबी गर्नुले स्वास्थ्य क्षेत्रमा मौलाएको विकृतिले कतिसम्म जरा गाडेको छ भन्ने प्रस्ट पार्दछ ।
तर, विभागीय मन्त्रीले आरोप लगाउने र गुनासो गरेर समस्याको समाधान हुँदैन । सरकारले आवश्यक कदम चाल्ने हो भने यो विकृतिलाई न्यूनीकरण गर्न नसकिने पनि होइन ।
प्रतिक्रिया दिनुहोस्