प्रधानन्यायाधीश राणालाई ‘निभ्न लागेको बत्ती’ को संज्ञा दिँदै बार अध्यक्ष श्रेष्ठले भने अब ‘वारपार’ « Imagekhabar – Online News Portal of Nepal
८ आश्विन २०७९, शनिबार | Sun Sep 25 2022


प्रधानन्यायाधीश राणालाई ‘निभ्न लागेको बत्ती’ को संज्ञा दिँदै बार अध्यक्ष श्रेष्ठले भने अब ‘वारपार’


0
Shares

काठमाडौं, कात्तिक २३ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एशोसिएनले विरोध कार्यक्रमलाई अझ कठोर बनाउने संकेत गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश राणाले सबै न्यायाधीशलाई सबै प्रकृतिको मुद्दाको इजलाश तोकेपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब राणासँग ‘वारपार’ हुने प्रतिक्रिया दिनुभयो ।

कालोपट्टी बाँधेर विरोधमा उत्रिएका वकीलहरुका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिँदै अब वारपारको आन्दोलन हुने चेतावनी दिनुभएको हो ।

चेतावनी शैलीमा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘उहाँ निभ्न लागेको बत्ती जस्तो मात्रै हो, उहाँ हट्न नै पर्छ । शान्तिपूर्ण रूपमा भइरहेको हाम्रो आन्दोलनलाई अटेर गरिरहे कानून व्यवसायी मात्रै हैन सेवाग्राही, नागरिक समाज सबै आन्दोलनमा उत्रन्छन्, व्यवस्था परिवर्तनका लागि लड्दा हाम्रा साथीहरु मरेका छन्, घाइते भएका छन्, त्यो अवस्था नआओस् भनेर जबरा सचेत रहुन् । हामी यही चाहन्छौँ ।’

बारले न्यायालयको वर्तमान अवस्थाको निकास खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा रहेका राजनीतिक दलहरूलाई ज्ञापनपत्र पनि बुझाउने भएको छ ।

दोस्रो चरणको कार्यक्रममा बारले कात्तिक २५ देखि ३० गतेसम्म उपत्यकाका अदालतहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म सुनुवाइमा सहभागी नहुन बारका प्रतिनिधिलाई आह्वान पनि गरिएको छ ।

कात्तिक २८, २९ र ३० गते उपत्यका बाहिरका बार इकाईहरुले पनि हातमा कालोपट्टी बाँधी विरोध जनाउने, न्यायालयको वर्तमान अवस्थाबारे जनस्तरमा पनि जानकारी गराउने कार्यक्रम पनि तय गरिएको छ ।