Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


‘लोकतन्त्र, बहुलवाद र मानवअधिकारप्रति नेपालको अटल प्रतिबद्धता’


0
Shares

काठमाडौं, साउन १८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवअधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषदको ७०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संविधानले निर्देश गरेअनुसार संयुक्तराष्ट्र संघको बडापत्रका सिद्धान्त, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका आदर्श देशको परराष्ट्र नीति सन्चालनका आधारस्तम्भ भएको बताए ।

उनले मुलुकको राष्ट्रिय हित र स्वार्थ मुखरित हुने स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको स्पस्ट पारे ।

उनले ‘सबैसँग मैत्री’ विश्व समुदायसँगको नेपालको साझेदारीको विशेषता भएको, सार्वभौम समानता, पारस्परिक हित, न्याय र आपसी सम्मानमा आधारित भएर अन्तर्राष्ट्रिय सम्बन्ध सन्चालन भइरहेको र नेपालले १६१ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरिसकेको जानकारी दिए ।

परराष्ट्रमन्त्रीले मानवअधिकारसम्बन्धी २४ अभिसन्धिमा नेपाल पक्ष राष्ट्र रहेको जानकारी दिए ।

देशको सामाजिक–आर्थिक विकासलाई वर्तमान सरकारले उच्च प्राथमिकता दिएको दोहोर्‍याउँदै उनले आर्थिक रुपान्तरण हासिल गर्ने जनचाहना पूरा गर्न पनि सरकार दृढ रहेको बताए ।

परराष्ट्रमन्त्रीले ‘कूटनीतिक सक्रियतासहित देशमा उपलब्ध स्रोत र साधनको अधिकतम् उपयोग, आर्थिक उन्नयनका लागि सशक्त आर्थिक कूटनीतिको सन्चालन, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरण, निर्यात व्यापार वृद्धिजस्ता अनेक मामिलामा अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउन कूटनीतिक संयन्त्र सधैं क्रियाशील छ’–भने ।

उनले भारतसँग समाधान गर्न बाँकी विषय आगामी असोज १४ गतेभित्र सम्बोधन गरिने जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणले शताब्दीऔं पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए ।

चीन–नेपाल सम्बन्ध पनि शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेको भन्दै उनले एक चीन नीतिप्रतिको नेपालको धेरैअघिदेखिको नीतिमा कुनै हेरफेर नरहेको र त्यसमा नेपाल अडिग रहेको प्रस्ट पारे ।

परिषद अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव असिम थापा र सचिव भुवन पाठकले परिषदका गतिविधि र त्यसको ७० वर्षे यात्राका आरोह–अवरोहको चर्चा गरेका थिए । रासस